
दाङ,२३ असोज ।
नेपालमा अझै पनि ४१ प्रतिशत मानिसहरू आँखा अस्पतालको पहुँचभन्दा बाहिर रहेका छन्न्, भने ४१ प्रतिशत बिरामीले आँखाको समस्यालाई बेवास्ता गर्ने गरेका छन् । विश्व दृष्टि दिवसका अवसरमा दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको राप्ती आँखा अस्पतालमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार देशमै सबैभन्दा बढी दृष्टिविहीनताको दर लुम्बिनी प्रदेशमा १.७५ प्रतिशत रहेको छ । कर्णाली प्रदेशमा दृष्टिविहीनताको दर ०.९१ प्रतिशत रहेको तुलनामा लुम्बिनी प्रदेशमा यो दर उच्च रहेकाले यहाँ आँखा स्वास्थ्य तथा दृष्टि संरक्षणका क्षेत्रमा रोकथाम र उपचारका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीका अनुसार संघीय सरकारले बजेटमा आँखा अस्पतालका लागि एक पैसा पनि छुट्याउँदैन । सरकारको बजेट नभए पनि संघले ‘हुनेसँग लिने र नहुनेलाई दिने’नीति अनुसार अति गरिब नागरिकहरूलाई निःशुल्क उपचार दिँदै आएको छ । स्थानीय तहहरूसँग उज्यालो अभियान मार्फत सहकार्य गरिएको र कर्णाली प्रदेश सरकारबाट प्रस्तावना पेश गरी उपकरण सहयोग प्राप्त गरेर सेवा विस्तार गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
राप्ती आँखा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत शालिकराम गौतमले प्रस्तुत गरेको तथ्यांक अनुसार मानिसहरू दृष्टिविहीन हुनुका प्रमुख कारणहरूमा ४१ प्रतिशत आँखाको समस्याको बेवास्ता, ३६ प्रतिशत आर्थिक समस्या, २० प्रतिशत भौगोलिक दुर्गमता र ३ प्रतिशत अन्य कारणहरू रहेका छन् ।
यस्तै, आँखा अस्पतालका कार्यकारी निर्देशक धर्मराज गोसाईले समस्या जटिल भएपछि मात्र उपचारमा आउनुको साटो नियमित आँखा परीक्षण गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहायक प्राध्यापक डाक्टर रन्जीत साहले आँखामा कुनै पनि समस्या आउनासाथ आफूखुसी मनपरी औषधि प्रयोग नगर्न र डाक्टरको सल्लाहमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्नुभयो ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म आँखा स्वास्थ्य सेवा पु¥याउन स्थानीय सरकार, स्वास्थ्य संस्था, गैरसरकारी संस्था र सञ्चारमाध्यम बीच सहकार्य आवश्यक रहेको कार्यक्रममा बताइएको छ । नेपाल नेत्रज्योति संघ दाङका सचिब ध्रुबराज गौतमको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।



लाइभदाङ । २३ आश्विन २०८३, शुक्रबार ०५:५२ बजे