
दाङ, २२ असोज ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं.७ निवासी गोविन्द भण्डारी नजिकैको बागर सिकाई केन्द्रमा गएर नियमित पुस्तक लिएर अध्ययन गर्नुहुन्छ । आफू शान्तिनगर गाउँपालिकावासी भएपनि दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित बागर सामुदायिक सिकाई केन्द्र नजिकै पर्ने भएकाले सधै त्यही गएर पुस्तक पढ्ने गरेको बताउनुभयो ।“म सधै सामुदायिक सिकाई केन्द्रमा गएर किताब ल्याएर पढ्छु”,उहाँले भन्नुभयो“यसले निकै सहज बनाएको छ ।”
त्यस्तै दाङ दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँकै सुस्मिता केसीलाई पनि सिकाइ केन्द्रले निकै सहायता दिएको छ । विएड तेस्रो बर्षमा अध्ययनरत उहाँ नियमित क्याम्पस जान भ्याउनुहुन्न । तर, सिकाई केन्द्रबाट किताब लिएर नियमित अध्ययन गर्न निकै सहज भएको सुनाउनुहुन्छ ।“ म नियमित क्याम्पस जान भ्याउदिन”,उहाँले भन्नुभयो“तर, सिकाई केन्द्रबाट किताब लिएर नियमित पढ्ने गर्छु, यसले मलाई निकै सहज बनाएको छ ।”
उहाँहरु त केही उदाहरण मात्रै हो । सिकाई केन्द्रले स्थानीयहरुलाई केही नयाँ कुराको जानकारी पाउन, पत्रपत्रिका पढ्न, किताब अध्ययन गर्न सहज बनाएको छ । विद्यालय जान नपाउने, केही नयाँ कुरा सिक्न चहानेहरु सिकाई केन्द्रमा आएर अध्ययन गर्ने गरेको बागर सिकाई केन्द्रका परिचालिका जया कुमारी चौधरीले बताउनुभयो । उहाँका अनुसार दैनिक ५ देखि १० जनासम्मले यसरी किताबहरु अध्ययन गर्ने गरेको उहाँको भनाई छ ।
पठन संस्कृति हराउँदै गएको अबस्थामा पनि यसरी दैनिक जसो किताब पढ्न आउने कुराको विकास सिकाई केन्द्रले गरेको उहाँको भनाई छ । २०७० सालमा बागर सामुदायिक सिकाई केन्द्र स्थापना गरिएको हो । दंगीशरण गाउँपालिका भित्र मात्रै दुईंवटा सिकाई केन्द्र छन्, भने दाङ जिल्ला भर यस्ता ३२ वटा सिकाइ केन्द्र रहेका छन् । सरकारले पठन संस्कृतिको विकास गर्नकालागि देशभर यस्ता सिकाई केन्द्र स्थापना गरेको थियो ।



लाइभदाङ । २२ आश्विन २०८३, बिहीबार ०९:२५ बजे