दाङमा अर्कै ब्यक्तीलाई बुवा देखाई नागरिकता

दीपक बोहरा
दाङ, २२ असोज ।
दाङको राजपुर गाउँपालिकाका दुई जनाविरुद्ध झुठ्ठा विवरण पेस गरी नेपाली नागरिकता लिएको कसुरमा दाङ जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ । जिल्ला प्रशासन कार्यालय घोराही दाङको जाहेरी प्रतिवेदनका आधारमा राजपुर गाउँपालिका वडा नं. ३ बसन्तपुर बस्ने ४५ वर्षीया श्याम कुमारी यादव र उनका श्रीमान ५० वर्षीय कृष्ण बहादुर अहिर विरुद्ध ‘नागरिकता सम्बन्धी कसुर’ मुद्दा दर्ता गरिएको हो । उनीहरु दुबै जनालाई बुधबार दाङ जिल्ला अदालतका न्यायाधिक महेश खनालको इजलासले २० हजार धरौटीमा छोड्न आदेश गरेको छ ।

घटना के थियो ?
श्याम कुमारी यादवकी आमा ‘बाबु अहिरनी’का पहिलो श्रीमान बुधराम अहिरको २०२७ साल असार १२ गते निधन भएको थियो । त्यसपछि उनकी आमाले राजपुर गाउँपालिका ३ खदरिया निवासी बडेलाल अहिरसंग २०३३ सालतिर विवाह गरिन् । त्यसपछि २०३८ साल भदौ २५ गते श्याम कुमारीको जन्मभयो ।

तर, नागरिकता लिने क्रममा निज श्याम कुमारी यादवले मृत्यु भइसकेका बुधराम अहिरलाई नै आफ्नो बुवा देखाएर झुठ्ठा विवरणका कागजात पेस गरेकी थिइन् । उनले २०६३ साल माघ २५ गते तत्कालीन बेला गाउँविकास समिति कार्यालयबाट अनुसूची–१ को फाराम भराई सोही आधारमा २०६३ माघ २७ गते नागरिकता प्रमाणपत्र नं. ५२३००५/१०४२ प्राप्त गरेकी हुन् । उक्त कार्यमा उनका श्रीमान कृष्ण बहादुर अहिरले सूचक बनेर सनाखत गरिदिएका थिए ।


अभियोगपत्रमा प्रतिवादीहरू श्याम कुमारी यादव र कृष्ण बहादुर अहिरलाई नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा (५) बमोजिम सजाय गर्न र सोही ऐनको दफा १२ बमोजिम झुठ्ठा विवरणका आधारमा जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गर्न मागदाबी गरिएको छ ।

सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिबक्ता श्रीधर अधिकारीका अनुसार नागरिकता सिफारिस तथा जारी गर्ने कार्यमा संलग्न तत्कालीन बेला गाउँविकास समितिका पञ्जिका अधिकारी पदम प्रसाद चौधरीको मृत्यु भइसकेको र नागरिकता टोली प्रमुख ऋषिराम रिमाल अनिवार्य अवकाशमा गइसकेकाले निजहरूको हकमा कुनै दाबी लिईएको छैन । नागरिकता बनाउने अभियान गएको अबस्थामा उनीहरुले यसरी झुठा विवरण पेश गरि नागरिकता बनाएको पाईएको हो । सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीद्वारा उक्त अभियोगपत्र अदालतमा पेश गरिएको हो ।