
दीपक बोहरा
तुलसीपुर, २१ असोज ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल(गनेश)ले दाङको टरिगाउँ विमानस्थललाई दुई बर्ष भित्र १४ सय मिटर धावन मार्ग विस्तार गरिने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित उक्त विमानस्थलको बुधबार स्थलगत अवलोकन पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तुलसीपुरमा आयोजना गरेको‘समग्र दाङको विकासमा टरिगाउँ विमानस्थलको महत्व’ विषय खुल्ला छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । उहाँले चालु बर्षमा २५ करोड बजेट बिनियोजन भएको भन्दै उक्त बजेटबाट यसै वर्षदेखि प्रारम्भिक काम सुरु गर्ने समेत बताउनुभयो ।“अहिले २५ करोड विनियोजन भएको छ”,उहाँले भन्नुभयो“ २५ करोडले त्यसको प्रारम्भिक अध्ययन र फिलिङको काम सुरु गर्न सकिन्छ। यो वर्ष नै काम थालेर दुई वर्षभित्रमा कम्तिमा १४०० मिटरसम्मको रनवे भएको विमानस्थलको स्तरोन्नति हुनेछ।”
उहाँले नेपालगञ्जमा कुहिरोले ढाक्यो वा अरु कारणले अवतरण हुन नसकेको अवस्थामा पनि टरिगाउँ एयरपोर्टलाई वैकल्पिक विमानस्थलको रूपमा विकास गर्न सकिने बताउनुभयो ।
उहाँले प्राविधिक अवलोकनका आधारमा धावनमार्ग अहिलेकै अबस्थामा विस्तार गर्न सकिने समेत बताउनुभयो । हाल ७ सय ५० मिटर लम्बाई भएको धावन मार्ग भएको भन्दै त्यसमा ६ सय मिटर थप गर्न सकिने सम्भावना रहेको बताउनुभयो । “रनवे एक्सटेन्सनको सम्भावना एकदमै छ”,उहाँले भन्नुभयो“रनवेलाई टिल्ट गर्नुपर्छ भन्ने सुनिए पनि नपर्ने जस्तो प्रारम्भिक अनुमान छ ।”
त्यस्तै कार्यक्रममा रास्वपाका महामन्त्री बिपिन कुमार आचार्यले विमानस्थल निर्माणका विषयमा अनावश्यक राजनीतिक विवाद नगर्न आग्रह गर्नुभयो । उहाँले टरिगाउँ विमानस्थलको स्तरोन्नति क्षेत्रीय अर्थतन्त्रसँग जोडिएको बताउनुभयो । “हामीले नारायणपुर भर्सेस टरिगाउँको डिबेट बन्द गर्नुपर्छ। सीमित स्रोतसाधन भएको देशमा रिसोर्सको म्याक्सिमाइजेसन गर्न सकिएन भने त्यो नेताको इगो मसाज मात्र हुन्छ”,उहाँले भन्नुभयो“त्यसैले अहिलेका लागि टरिगाउँकै एयरपोर्टलाई विस्तार गर्ने हो ।”
आचार्यले विमानस्थलले १७/१८ लाख जनसंख्यालाई जोड्ने उल्लेख गर्दै उक्त विमानस्थल दाङको मात्र नभई सल्यान, रोल्पा, रुकुम, सुर्खेतलगायतका नागरिकसंग जोडिने बताउनुभयो ।
त्यस्तै दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य कमल सुवेदीले आफ्नो कार्यकाल भित्र ठूला जहाज उडाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । “यहाँ कसैले बन्दै बन्दैन र बनाउनै सकिँदैन भन्ने भाष्य बनाएका छन”,उहाँले भन्नुभयो“अब यो एयरपोर्ट बन्छ र बनाउनुपर्छ ।”
सुवेदीले दाङको समग्र विकासका लागि सडक, स्वास्थ्य र नेपाल संस्कृत विश्वविद्यालयको स्तरोन्नति पनि सँगै अघि बढाइने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले टरिगाउँ विमानस्थलकालागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहने बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले धावनमार्गको ओरिएन्टेसन यथावत राखी कसरी लागत घटाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार विस्तृत अध्ययनपछि यसलाई अगाडि बढाउन सकिनेछ ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले १२५० मिटर धावनमार्गमा ७२ सिटे जहाज बस्न सक्दैन भन्ने भ्रामक भाष्यलाई चिर्दै विनियोजित २५ करोड बजेटबाट तत्काल काम सुरु गर्नुपर्ने बताउनुभयो । “भरतपुरको १२५० मिटर, सिमराको ११९२ मिटर र सुर्खेतको १२५५ मिटरमा ७२ सिटे एटीआर जहाज चलिरहेका छन्, भने हाम्रो १२५० मिटरमा किन बस्दैन? यो आम दाङवासीको साझा प्रश्न हो”,उहाँले भन्नुभयो“ २५ करोड बजेट ऐतिहासिक हो, यसबाट साढे ७ सय मिटरको धावनमार्गलाई साढे १२ सय मिटर पु¥याउन टेन्डर तत्काल अघि बढाइनुपर्छ ।”
यदि ठूला जहाज सञ्चालन भएमा ६ महिनासम्मको जहाजको टिकेटको जिम्मा लिन निजि क्षेत्र तयार रहेको समेत उहाँको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अहिले परेको बजेट कार्यान्वयन बनाउनकालागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । २०४२ सालसम्म नियमित हवाई सेवा सञ्चालन भएपनि त्यस यता यो विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन सकेको छैन । पछिल्लो समय हप्तामा चार दिन जहाज चल्ने भनिएपनि नियमित हुन सकेको छैन । यसलाई निरन्तर बनाउन यस क्षेत्रका सरोकारवालाहरु पटक–पटक दवावमुलक अभियान समेत सञ्चालन गर्ने गरेका छन् । हाल विमानस्थलको धावनमार्ग ७ सय ५० मिटर छ । जसले गर्दा १९ सिटे जहाज मात्रै अवतरण गर्न सक्छन् । विमानस्थलमा इन्धन डिपो समेत स्थापना भएको छ ।



लाइभदाङ । २१ आश्विन २०८३, बुधबार २२:१९ बजे