सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रिया स्मृती गजमेर
लमही, १४ भदौ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गढवा शाखाले गढवा गाउँपालिका–६, मधपुरस्थित नसवा सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्देश्य बढ्दो साइबर क्राइम, अनलाइन ठगी तथा विभिन्न किसिमका स्क्यामिङबारे जनतालाई सचेत गराउनुका साथै बचत, ऋण, बीमा र रेमिट्यान्स सम्बन्धी ज्ञान प्रदान गर्नु रहेको थियो।


दाङ सब–क्लस्टरका हेड आस कुमार जरेजुको अध्यक्षता र वडा सदस्य गोविन्दबहादुर रोकाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नसहवा सामुदायिक वन उपभोक्ता समूहका सदस्य रामबहादुर घर्ती, वडा सदस्य मोतिसरा विक र महिला स्वास्थ्य स्वयंसेविका धना थापा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा करिब ६० जनाको सक्रिय सहभागिता रहेको थियो। गढवा शाखा प्रबन्धक तेजबहादुर नेपालीले प्रशिक्षण प्रदान गरेका थिए भने सहजीकरण गढवा शाखाका कर्जा कर्मचारी देव नारायण चौधरीले गरेका थिए।