पेट्रोलको भाउ घट्यो, डिजेल र मट्टितेलको भाउ बढ्यो

दाङ, १६ साउन ।
शुक्रबार बिहानबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ हेरफेर भएको छ । नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो । त्यस्तै डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले बिहीबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ ५० पैसा पर्नेछ ।


त्यस्तै दोस्रो वर्गमा दाङ र सुर्खेत क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पर्नेछ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।