जब धुरु–धुरु रोए विद्यार्थी….

तुलसीपुर, १० साउन । नेशनल प्याब्सन दाङको आयोजनामा शुक्रबार तुलसीपुरमा विद्यार्थी लक्षित विशेष उत्प्रेरणात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । जिल्लाका एक दर्जनभन्दा बढी विद्यालयबाट सहभागी भएका ७ सयभन्दा बढी विद्यार्थीहरूले कार्यक्रमलाई उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कार्यक्रम नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत मनबहादुर खड्का रहेका थिए, भने मुख्य प्रशिक्षकको रूपमा प्रेरक वक्ता क्षेत्र प्रसाद ज्ञवालीले प्रशिक्षण दिएका थिए । प्रशिक्षणले विद्यार्थीहरुलाई भावुक बनाएको थियो ।

मुख्य प्रशिक्षक ज्ञवालीले विद्यार्थीहरूलाई लक्षित गर्दै जीवनमा सफलता प्राप्त गर्न अध्ययनसँगै आत्मअनुशासन, समय व्यवस्थापन र सकारात्मक सोचको अनिवार्यता माथि जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले वर्तमान शिक्षाले व्यवहारिक पक्षमा समेत ध्यान दिन जरुरी रहेको बताए । उनले यस्ता उत्प्रेरणा मूलक कार्यक्रमहरू विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, सकारात्मक सोच विकास गर्ने तथा जीवनप्रतिको दृष्टिकोण परिवर्तन गर्न सहयोगी हुने धारणा राखे ।


शिक्षा शाखाका अधिकृत मनबहादुर खड्काले विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति देख्दा आफू उत्साहित भएको बताउँदै यस्ता कार्यक्रमहरूले बालबालिकाको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष भोजराज न्यौपानेले सबै विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक तथा सहभागी विद्यार्थीप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य बिमल गौतम, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सहभागी विद्यार्थीहरूले प्रशिक्षण अत्यन्त उपयोगी, प्रेरणादायी र व्यवहारमै आधारित रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रमको प्रारम्भमा नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष लोकेन्द्र खड्काले स्वागत मन्तव्य ब्यक्त गरेका थिए, भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव हरिप्रसाद भण्डारीले गरेका थिए ।