
दाङ, ११ वैशाख । मानव अधिकार तथा शान्ति समाज, दाङ शाखाले तुलसीपुरमा ‘नागरिक सम्वाद कार्यक्रम’ गरेको छ । विहीबार तुलसीपुरमा भएको कार्यक्रममा सहभागी वक्ताहरूले लोकतन्त्रमाथि प्रहार भइरहेको भन्दै यसलाई जोगाउन सबै नागरिक एकजुट हुनुपर्ने बताएका थिए ।
महिला अधिकारकर्मी शुष्मा गिरीले सुशासन संस्थागत नहुँदासम्म नागरिक अधिकार स्थापित हुन नसक्ने बताउनुभयो । उनले विभेद अन्त्य गरेर सामाजिक एकता कायम गर्नुपर्नेमा जोड दिइन । नेकपा एमालेका नेता नवराज लामिछानेले युवाहरू अधिकारप्रति सचेत हुन जरुरी रहेको र सकारात्मक कुरामा ध्यान दिनुपर्ने बताए ।
नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्यले वर्तमान सरकार, दल तथा नागरिक समाजबीच पारदर्शिता र जवाफदेहिताको अभावले लोकतन्त्र जोखिममा परेको बताए । माओवादी केन्द्रका तुलसीपुर नगर इन्चार्ज डिल्ली अधिकारीले लोकतन्त्र रक्षा गर्ने सन्दर्भमा राजनीतिक दलहरुबीच एकता हुन आबश्यक रहेको बताए ।
कार्यक्रममा पत्रकार बालाराम खड्का, दिप्तीशिखा चौधरी, दीपक बोहरा, निरला आर्यलले लोकतन्त्र कमजोर हुँदा अभिब्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरेको बताए ।
मानव अधिकारकर्मी देवा डाँगीले लोकतन्त्र भनेको कानुन निर्माण र प्रेस स्वतन्त्रताको संयोजन भएको भन्दै, प्रेसमाथि भइरहेको आक्रमणले लोकतान्त्रिक मूल्यमा क्षति र्पुयाएको बताईन् ।
मानव अधिकारकर्मी तुलसीराम सुनारले दण्डहीनता हटाएर सुशासन संस्थागत गर्नुपर्ने बताए । उनले राज्य संयन्त्रले जनतालाई दिने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र खड्काले ठूला राजनीतिक दलहरू नै भ्रष्टाचारको केन्द्रबिन्दु भएको भन्दै सामाजिक विघटन र नागरिक अधिकार हननमा तिनको भूमिका रहेको बताए । मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण माधव बस्नेतले गरेका थिए ।



लाइभदाङ । ११ बैशाख २०८२, बिहीबार २२:१२ बजे