राप्तीमा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीच बैठक

मसुरिया, ११ कार्तिक ।
दाङको राप्ती गाउँपालिकामा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीच बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत बुधबार गाउँपालिकाको सभाहल मसुरियामा सम्पन्न बैठकले पोषणको अवस्था सुधार तथा कुपोषण न्यूनीकरणका लागि विभिन्न पाँचबुँदे निर्णय गरेको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण लेखाजोखा गर्ने, स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने तथा वडा नम्बर १ को मछीताल गाउँ र वडा नम्बर ५ को भुल्केलाई पोषणमैत्री नमुना गाउँका रूपमा विकास गर्न अन्य बहुक्षेत्रीय पोषणसम्बन्धी शाखाले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने निर्णय गरेकोे छ।

त्यसैगरी, यही कार्तिक १७ र १८ गते सञ्चालन हुने बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरिएको छ।

बैठकमा कार्यवाहक अध्यक्ष चौधरीले राप्ती गाउँपालिका अझै पनि कुपोषणको समस्याबाट मुक्त हुन नसकेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि गाउँपालिका गम्भीर रूपमा लागेको बताउनुभयो। उहाँले कोदो, फापरजस्ता स्थानीय तथा पोषणयुक्त खाद्य पदार्थको उपभोगमा जोड दिनुपर्ने बताउनुभयो।


प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले पोषण सुधारका कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विकास साझेदारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले उपलब्ध स्रोतसाधनको उचित सदुपयोग गर्दै पोषणसम्बन्धी कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।

बैठकमा बेस संस्थाका कार्यक्रम संयोजक सुरेश चौधरीले लुम्बिनी प्रदेशको पोषण अवस्था तथा हालसम्म सञ्चालन भएका कार्यक्रमको प्रगति प्रस्तुत गर्नुभयो। उहाँले राप्ती गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन गरिने पोषण सुधारसम्बन्धी कार्यक्रमबारे पनि जानकारी गराउनुभयो।

कार्यक्रममा वडाध्यक्षहरू,विभिन्न शाखाका प्रमुख, हेलेन केलर र बेस संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नारायण राउतको स्वागत मन्तव्य तथा बेस संस्था दाङका सचिव रुपलाल चौधरीको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका पाेषण फोकल पर्सन धनबहादुर बुढा क्षेत्रीले गर्नुभएको थियो।