शिक्षकले छोराछोरी सामुदायिक विद्यालयमै पढाउँदा सुध्रिएको शिक्षा

दाङ, ९ कात्तिक ।
दाङको दंगीशरण गाउँपालिका वडा नं. ७ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी संख्याका हिसाबले अत्यन्त न्यून थियो । तर, २०७६ सालमा कक्षा ६ देखि अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयले त्यसयता शैक्षिक क्षेत्रमा सुधार गर्दै हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

हालसम्म यस विद्यालयबाट एसईईका चार वटा ब्याचका विद्यार्थीहरूले परीक्षा दिइसकेका छन् । परीक्षाको समग्र नतिजालाई हेर्दा एसईईका साथै कक्षा ८ को परीक्षामा समेत पश्चिम दाङकै सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारुले बताउनुभयो । उहाँका अनुसार गत वर्षको एसईई परीक्षामा विद्यालयका ६ जना विद्यार्थीले ‘ए प्लस’ ल्याएका थिए भने ८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउन सफल भएको थियो ।

शिक्षक तथा कर्मचारीहरू विद्यालयप्रति पूर्ण रुपमा जिम्मेवार भएमा सफल भइन्छ, भन्ने उदाहरण दिन सफल भएको प्रअ थारुको भनाई छ । २०७६ सालदेखि नै विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारीका छोराछोरीहरूलाई अनिवार्य रूपमा यही विद्यालयमा पढाउने निर्णय गरेर लागु गरिएको छ । त्यसले गर्दा पनि विद्यालयले यो नतिजा ल्याउन सफल भएको उहाँको भनाई छ ।“मेरै छोरीले दुई बर्ष अघि यही विद्यालयबाट एसईई दिएकी हुन्”,उहाँले भन्नुभयो“अन्य सबै कर्मचारीका बालबालिकाहरू पनि यहीँ अध्ययनरत हुनुहुन्छ ।”

प्रबिधिको पनि प्रयोग
विद्यार्थीहरूलाई गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्न विद्यालयमा प्रविधिको प्रयोग गरिएको छ । विद्यालयमा विषयवस्तु अनुसार अध्यापन गराउन तीन वटा स्मार्ट बोर्डहरूको प्रयोग भइरहेको छ । साथै विद्यार्थीहरूको व्यावहारिक सिकाइका लागि एउटा विज्ञान प्रयोगशाला र अध्ययनका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । साथै विद्यालयको आफ्नै चमेनागृह समेत रहेको छ । जहाँबाट खाजा कार्यक्रम सञ्चालन भइरहेको छ ।


शौचालयको समस्या
विद्यालयले केही भौतिक पूर्वाधार र जनशक्तिको भने समस्या खेप्नु परेको छ । विद्यार्थी संख्या बढ्दै जाँदा भवनहरूको अवस्था तथा शौचालयको भने चरम अभाव देखिएको छ । छात्राका लागि दुई वटा र छात्रका लागि एउटा मात्र शौचालय रहेको छ । जसले गर्दा विद्यार्थीहरुले शौचालय जाँदा लाइन लाग्नु पर्ने अबस्था रहेको छ ।

शिक्षक तथा कर्मचारीहरूका लागि छुट्टै शौचालयको व्यवस्था छैन । हाल सोही विद्यालयमा २ जना विद्यालय कर्मचारी र १५ जना शिक्षकहरू कार्यरत रहका छन् । अहिले विद्यालयमा साढे चारसय बढि विद्यार्थी अध्ययनरत छन् ।

२०५२ सालमा स्थापना भएको उक्त विद्यालयलाई २०७६ सालदेखि स्तरबृद्धिको पहल थालिएको थियो । तत्कालिन गाउँपालिकाका शिक्षा समितिका संयोजक विरबहादुर वलीका अनुसार एक करोड बजेट बिनियोजन गरेर भवन निर्माण गरिएको थियो । त्यसपछि कक्षा थप गरेर अगाडी बढाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार जहाँ विद्यार्थी, त्यहाँ शिक्षक अभियान थालेर केही शिक्षकहरु समेत थप गरेपछि शिक्षामा सुधार आएको उहाँले बताउनुभयो ।