
तुल बहादुर कवँर मगर
मसुरिया, ९ कात्तिक।
दाङको राप्ती गाउँपालिकाले सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘सरसफाइ डिजिटल अवार्ड’ आयोजना गर्ने भएको छ।
गाउँपालिकाले सरसफाइसम्बन्धी जनचेतनामूलक भिडियो निर्माण गरी अभियानमा सहभागी हुन स्थानीय समुदाय, विद्यार्थी, युवा, महिला तथा विभिन्न संघसंस्थालाई आह्वान गरेको छ।
पूर्ण सरसफाइयुक्त गाउँ तथा सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी बनाउने, स्वच्छताको महत्त्वबारे नागरिकलाई सचेत गराउने र सरसफाइलाई दैनिक व्यवहारमा जोड्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सोमबार जारी गरेको सूचनाअनुसार सहभागीले फोहोरमैला व्यवस्थापन, कुहिने र नकुहिने फोहोरको वर्गीकरण, घरेलु कम्पोस्ट मल निर्माण, नाली तथा सार्वजनिक स्थलको सरसफाइ, प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण र सरसफाइ संरक्षणमा समुदायको भूमिकालगायत विषय समेटेर भिडियो बनाउन सक्नेछन्।
भिडियो अधिकतम तीन मिनेट ३० सेकेन्डसम्मको हुनुपर्नेछ। भिडियोमा स्पष्ट सन्देश, प्रभावकारी दृश्य, मौलिकता र सिर्जनात्मकता झल्किनुपर्नेछ। साथै, राप्ती गाउँपालिकाभित्रका वास्तविक स्थान, गतिविधि तथा परिवेश झल्किने दृश्य कम्तीमा १० सेकेन्ड समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
भिडियो नेपाली वा स्थानीय भाषामा तयार गर्न सकिनेछ। भिडियोको सम्पूर्ण अवधिभर गाउँपालिकाको लोगो अनिवार्य रूपमा समावेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
इच्छुक व्यक्ति तथा समूहले यही पुस मसान्तसम्म सरसफाइसम्बन्धी जनचेतनामूलक भिडियो तयार गरी गाउँपालिका कार्यालयकाे खानेपानी तथा सरसफाइ शाखामा स्वयंम उपस्थित भएर दर्ता गराउनुपर्नेछ।

दर्ता भएका भिडियोमध्ये ‘राप्ती गाउँपालिका सरसफाइ रनिङ शिल्ड सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन, २०८३)’ बमोजिम छनोट गरी पुरस्कार तथा सम्मान प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले गत वर्ष पनि सरसफाइ अवार्ड आयोजना गरेको थियो। यस वर्षको डिजिटल अवार्डले प्रविधि र सिर्जनात्मक माध्यमको प्रयोगबाट सरसफाइसम्बन्धी सन्देशलाई व्यापक रूपमा समुदायसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरसफाइलाई नागरिकको दैनिक जीवनशैलीसँग जोड्दै समुदायको सक्रिय सहभागितामा स्वच्छ, स्वस्थ र व्यवस्थित राप्ती निर्माण गर्ने अभियानलाई थप प्रभावकारी बनाउने गाउँपालिकाको लक्ष्य छ।



लाइभदाङ । १० कार्तिक २०८३, सोमबार २०:०५ बजे