
दीपक बोहरा
दाङ, १० कात्तिक ।
दाङको सौडीयारस्थित जग्गा बिक्री गरिसकेपछि पुनः आफ्नै नाममा स्रेस्ता कायम गरी दोहोरो स्वामित्व गराएको अभियोगमा एक व्यक्तिलाई छानबिनका लागि उपस्थित गराइदिन जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
साविक घोराही उपमहानगरपालिका वडा नं. ७ (हाल बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४) बस्ने दिलिप थापाले साविक सौडीयार गा.वि.स. २ क का विभिन्न कित्ता जग्गाहरू बिक्री गरेका थिए । थापाले मिति २०५५ साल असार ११ गते कित्ता नम्बर ८४०, ८४२ र ८५५ घोराही–७ बस्ने चन्द्रभानु भट्टराईलाई तथा मिति २०५५ साल असार १९ गते कित्ता नम्बर ८५२ शारदा भण्डारीलाई बिक्री गरेका थिए ।

तर, जग्गा बिक्री भइसकेपछि पनि निज थापाले पुनः आफ्नै नाममा स्रेस्ता कायम गराएपछि जग्गाको दोहोरो स्वामित्वरस्रेस्ता कायम हुन पुगेको थियो । नियतवश दोहोरो स्रेस्ता पारिएको भन्दै पीडित क्रेताहरू चन्द्रभानु भट्टराई र शारदा भण्डारीले थापाको नाम हटाई आफ्नै नाममा मात्र स्रेस्ता कायम गरिपाउँ भनी भूमि प्रशासन कार्यालय घोराहीमा निवेदन दिएका थिए ।
निवेदन कार्यान्वयनका सिलसिलामा भूमि प्रशासन कार्यालय घोराहीले थापासँग सोधपुछ गर्न पटक(पटक फोन सम्पर्क, पत्राचार तथा म्याद तामेल गर्दा समेत उनी उपस्थित भएनन् । त्यसपछि कार्यालयले २०८३ असोज २९ गते पत्रमार्फत जिल्ला प्रशासन कार्यालय दाङलाई निज थापालाई उपस्थित गराइदिन अनुरोध गरेको थियो ।



लाइभदाङ । ११ कार्तिक २०८३, मंगलवार ०८:११ बजे