
मसुरिया, १० कार्तिक ।
दाङको राप्ती गाउँपालिकाले गाउँ शिक्षा योजना अद्यावधिक गर्न कार्यदल गठन गरेको छ। गाउँपालिकाभित्रका विद्यालयको वास्तविक अवस्था विश्लेषण गरी एकीकृत र व्यावहारिक शिक्षा योजना तयार पार्ने उद्देश्यले गाउँ शिक्षा समितिको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख देवी मल्लका अनुसार गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले पहलवान चौधरीको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
कार्यदलमा कुलराज जैशी, अनुपम योगी, प्रमुख प्रशासकीय अधिकृतले तोकेका एक जना विषयविज्ञ र एक जना अधिकृतस्तरका कर्मचारी तथा सूचना प्रविधि अधिकृत सदस्य रहनेछन्। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सदस्य सचिव रहने निर्णय गरिएको छ।
बैठकले सामुदायिक विद्यालयमा कार्यरत स्थायी माध्यमिक तहका १४ जना शिक्षकलाई रोस्टर विषय शिक्षकका रूपमा छनोट गरी परिचालन गर्ने निर्णयसमेत गरेको छ। विद्यालयको नियमित सुपरिवेक्षण गर्ने तथा शिक्षकलाई निरन्तर पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले उनीहरूलाई परिचालन गर्न लागिएको शाखा प्रमुख मल्लले बताउनुभयो।
त्यस्तै, विद्यालयमा शिक्षकको आकस्मिक वा अस्थायी रिक्तताका कारण पठनपाठन प्रभावित हुन नदिन तयार पारिएको ‘राप्ती गाउँपालिका शिक्षक बैंकसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृतिका लागि गाउँ कार्यपालिकामा पेस गर्ने निर्णय भएको छ। गाउँ शिक्षा योजना अद्यावधिक, रोस्टर विषय शिक्षक परिचालन र शिक्षक बैंकको व्यवस्थापनसम्बन्धी निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुका साथै स्थानीय तहको शिक्षा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ।



लाइभदाङ । ११ कार्तिक २०८३, मंगलवार १६:४६ बजे