
दाङ, १९ असार ।
दाङ दंगीशरण गाउँपालिकाका सबै वडा आफ्नै भवनमा सञ्चालनमा आएका छन् । विहीबार वडा नं.३ को भवनबाट सेवा दिन सुरु गरिएसंगै सबै वडाले आफ्नै भवनबाट सेवा सुरु गरेका छन् । यस अघि वडा कार्यालयहरु भाडामा थिए । वडा नं.१,२,४, ५ र ७ नम्बर वडा भाडाको सञ्चालनमा थिए, भने वडा नं.३ स्वास्थ्यको भवन र वडा नं.६ तत्कालिन गाविसको भवनबाट सञ्चालनमा थिए ।
अहिले सबै आफ्नै भवनमा भएपछि भाडा तिर्नुपर्ने अबस्थाको अन्त्य भएको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।“पहिले भाडाको घरमा सञ्चालन गर्नुपर्ने अबस्था थियो, त्यसले गर्दा निकै समस्या हुने गथ्र्यो”,उहाँले भन्नुभयो“अब सबै वडा कार्यालयहरुका आफ्नै भवन भए ।”
अन्य वडाहरुको विगतका बर्षहरुमा नै भवन निर्माण भएर सेवा प्रवाह भइसकेको थियो, भने चालु बर्षमा वडा नं.३ को भवनबाट सेवा सुरु गरिएको हो । भवन उद्घाटन कार्यक्रममा प्रमुख गिरीले स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकाले नागरिकलाई छिटो, सहज, पारदर्शी र गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।
उहाँले नवनिर्मित भवनले सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।



लाइभदाङ । १९ असार २०८३, शुक्रबार १४:५६ बजे