
तुलसीपुर, १३ चैत ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीनबाली मकै खेति हुने गरेको छ । वर्षेनी ३ हजार ८ सय हेक्टर क्षेत्रफलमा हिउँदे, बसन्ते र वर्षे मकै खेति हुने गरेको छ । ति मध्ये बसन्ते मकै खेति गर्ने किसान बढि छन् ।
परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कडेँलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिकटन बढि उत्पादन हुने गरेको छ । उनका अनुसार गएको आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ३२ हजार ८ सय ९४ मेट्रिकटन मकै उत्पादन भएको थियो । वर्षेनी उत्पादन पनि बढिरहेको उनको भनाई छ । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २६ हजार ४ सय ५५ मेट्रिकटन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइव्रिड १० जातको मकै लगाउने गरिएको छ ।
वर्षेनी उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ७ सय हेक्टर क्षेत्रफलमा मकै खेति गरिएकोमा आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ८ सय हेक्टरमा मकै खेति हुने गरेको हो । यसरी वर्षेनी खेति गर्ने किसानहरुको आकर्षण बढिरहेको सूचना अधिकारी कडेँलले बताईन् ।
कार्यायले किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध समेत गराउने गरेको छ । रामपुर हाइव्रिड १० सहित अरुण २ र रामपुर कम्पोजिट जातको मकैको बिउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकै खेति गर्ने गरिएको छ ।
यसरी किसानहरुले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छ, भने कम्पनीले बिउ समेत खरिद गरिदिने भएकाले बजारीकरणकालागि पनि समस्या नरहेको उनको भनाई छ ।
मकै खेतिकालागि विभिन्न प्रविधिको प्रयोग समेत गर्ने गरिएको छ । भौगोलिक बनावट अनुसार रोप्नकालागि सिड ड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्याक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् । विगतमा बाँझो राखिएको जग्गामा अहिले मकै खेति गर्ने गरिएको छ । जसले गर्दा किसानहरुलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कडेँलले बताईन् ।
दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकै खेति हुने गरेको हो । वर्षे मकै बैशाख–जेठमा, हिउदे मकै भदौ–असोजमा र वसन्ते मकै माघ–फागुनमा लगाउने गरिन्छ ।विभिन्न बालीहरूको बिशिष्टिकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यवसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा आर्थिक वर्ष २०७३/०७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो ।
मकै सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनले व्यवसायीक क्षेत्रको फड्को मार्न थालेको छ । “यस क्षेत्रमा वर्षे मकै खेती बढी हुने र कृषकको बुझाई मकै वर्षे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो”, उनले भनिन् “सर्वप्रथम कृषकको यस प्रकारको सोचाई परिवर्तन गर्न जरुरी थियो । यसकालागि हामीले प्रतिफलमा आधारित प्रोत्सहान अनुदान कार्यक्रम मार्फत हिंउदे र बसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालन भएको हो ।”
अहिले देउखुरीका किसानहरुमा हिंउदे तथा बसन्ते सिजनमा समेत मकै खेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रको विभिन्न स्थानहरूमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भइ सञ्चालनमा रहेका छन् । जसबाट कृषकहरूले मकै खेतिको लागि आधुनिक कृषि यन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १३ चैत्र २०८१, बुधबार १९:५१ बजे