
दाङ, ५ मंसिर ।
पब्लिक क्याम्पस कर्मचारी संघ राप्ती बबई क्याम्पस तुलसीपुर दाङको प्रथम अधिवेशनले प्रल्हाद देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
क्याम्पसको सभाहलमा शुक्रवार सम्पन्न अधिवेशनले नवगठित समितिको सचिवमा किरण केसी र कोषाध्यक्षमा लक्ष्मी डाँगी चयन गरेको हो भन्ने सदस्यहरूमा विनोद ओली, दधिराम खनाल, तुलसीराम चौधरी र मपना चौधरी चयन गरेको हो ।
संघका निवर्तमान अध्यक्ष दामोदर सापकोटाको अध्यक्षता तथा क्याम्पस प्रमुख गणेश पार्धेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा बोल्दै प्रमुख अतिथि गणेश पार्धेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । क्याम्पसको शैक्षिक तथा प्रशासनिक सुधारमा कर्मचारीको भूमिका निर्णायक हुने उल्लेख गर्दै उहाँले आगामी दिनमा क्याम्पस प्रशासन र संघबीच रचनात्मक सहकार्य हुने विश्वास समेत व्यक्त गर्नु भएको हो ।
यस्तै पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष देवकोटाले आफूलाई विश्वास गरेर जिम्मेवारी दिने सम्पूर्ण कर्मचारीहरूप्रति आभार प्रकट गर्दै नयाँ कार्यसमितिले कर्मचारीहरूको पेशागत हकहितको संरक्षण, सेवा सुविधाको सुदृढीकरण र कार्यक्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । क्याम्पसको गरिमा उँचो राख्न प्रशासनिक सेवालाई अझ छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै सबैलाई समेटेर अघि बढ्ने समेत उहाँको भनाइ थियो ।



लाइभदाङ । ६ मंसिर २०८३, शनिबार ०६:२३ बजे