पहिले फोन गर्न डाँडामा जान्थ्यौं, अहिले फोरजी चल्यो

दीपक बोहरा,
दाङ, २ फागुन /
तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडामा पुग्नु पथ्र्यो । डाँडामा पुग्दा पनि राम्रोसंग काम गर्दैनथ्यो । तर, अहिले उनको मोबाईलमा अहिले फोरजी चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उनको मोबाईलमा अहिले फोरजी चल्न थालेको हो ।“पहिले फोन गर्न नै डाँडामा पुग्नु पथ्र्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पथ्र्यो”,उनले भने “डाँडामा पुग्दा पनि राम्रोसंग नेट चल्दैनथ्यो, तर, अहिले यहीको टावर सञ्चालनमा आएपछि घरभित्रैबाट नेट चलाउन पाईएको छ ।”

त्यस्तै सोही ठाउँका पूर्ण पुन पनि घरबाटै फोन गर्न पाउँदा निकै खुसी भएका छन् । उनले आफ्नै पहलमा टावर बनेको भन्दै टावर निर्माण भएपछि आफूहरूलाई निकै सहज भएको बताए। “मेरै पहलमा टावर निर्माण भएको हो, अहिले यो टावर सञ्चालनमा आएको छ”,उनले भने “टावर सञ्चालनमा आएपछि अहिले घरबाटै फोन गर्न सकिएको छ ।” छिल्लीकोट दाङको पर्यटकीय गन्तब्य पनि हो । त्यही फोनले काम नगर्दा समस्या हुने गरेको थियो । एनसिएलले काम गर्ने गरेको भएपनि एनटीसीले काम नगर्दा समस्या हुने गरेको थियो । अहिले उक्त टावरले ‘टुजी’ र ‘फोरजी’ सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख तिलक जीसीले बताए । टावर सञ्चालन भए संगै तुलसीपुरको छिल्ली–कोटको कुटिचौर, सक्राम, ग्वारखोला आसपास, रोल्पाको रून्टीगढी, डुब्रिङलगायतका स्थानमा फोन सेवाको पहुँच पुगेको छ ।

लामो समयको प्रयास पछि आईतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टावर उद्घाटन गरेकी थिइन । विद्युत नपुग्दा त्यहाँ लामो समयदेखि टेलिकमको टावर निर्माण भएपनि सञ्चालनमा आउन सकेको थिएन्  । मन्त्री शर्माले टेलिकमको टावर नपुग्ने ठाउँमा टावर पु¥याएर सञ्चारको पहुँचमा हरेक नागरिकलाई ल्याउने बताइन् ।“अहिले पनि दाङको नाका क्षेत्र, बिकट क्षेत्रहरूमा अझै फोन सेवा सहज हुन सकेको छैन”,उनले भनिन्“ती ठाउँहरूमा टावर पु¥याउने मेरो पहिलो काम हुनेछ ।” साथै उनले ‘हाईवे’ क्षेत्रमा पनि नेटवर्कको समस्या हुँदा दुर्घटना भएको बेला उद्दारमा समस्या हुने गरेको भन्दै त्यही अनुसार टेलिकम कार्यालयका प्रमुखहरूलाई निर्देशन दिइसकेको बताइन् । सडकमा दुर्घटना जतिबेला पनि हुन्छ । तर, फोन नहुँदा उद्दारमा समस्या नहोस्, भनि हाइवेमा फोन सेवा पु¥याउने बताइन् ।


केही दिनमा दाङको सैघामा निर्माण भएको टेलिकमको टावर पनि सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताइन् । त्यहाँ टावर सञ्चालनमा आएपछि बंगलाचुलीलगायतका क्षेत्रमा सहज सञ्चारको पहुँच हुने बताइन् ।

निःशुल्क सिम वितरण
टेलिकमले छिल्लीकोट सहितका क्षेत्रमा निःशुल्क सिम वितरण गरेको छ । प्रमुख जीसीका अनुसार नयाँ टावर निर्माण भएको स्थानमा नमस्तेको निःशुल्क सीम वितरण गरिएको हो । प्रत्येक नयाँ टावर निर्माण भएको स्थानमा पाँच सय नयाँ सिम वितरण गरिने र आवश्यकता अनुसार सिम थप गर्न सकिने जीसीले बताए । साभारः अगिम्र साप्ताहिक