तुलसीपुर,२० चैत । लुम्बिनी प्रदेश सरकारले निःशुल्क आँखाको नानी प्रत्यारोपन कार्यक्रम सुरु गरेको छ । दाङको तुलसीपुर स्थित राप्ती आँखा अस्पताल रक्षाचौरबाट उक्त सेवा सुरु गरिएको हो । सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नुभएको हो ।
उहाँका अनुसार चालु बर्षको असारमसान्तसम्म १२ जिल्लाका सर्वसाधारणको आँखाको नानी प्रत्यारोपन गरिने बताउनुभयो । यस अघि आँखाको नानी प्रत्यारोपनकालागि २४ हजार तीन सय १० रुपैँया लाग्ने गरेको भएपनि चालु बर्षमा त्यो सेवा निःशुल्क हुने उहाँले बताउनुभयो । प्रदेशका सम्बन्धित पाँच वटा आँखा अस्पतालहरुमा यस्तो सेवा निशुल्क उपलब्ध प्रदान गरिने भएको छ ।
आर्थिक अभाबकै कारण नानी प्रत्यारोपन नरोकियोस्, भनि यो कार्य सुरु गरिएको उहाँको भनाई छ । चोट पटक लागेर वा संक्रमन भएर आँखाको ज्योति गुम्ने खतरा रहन्छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग एवम नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सुरु गरेको हो । आँखा आस्पतालमा दुई बर्षमा एकसय जनाको आँखाको नानी प्रत्यारोपन गरिएको अस्पतालका एकाडेमिक चिफ डा. सुरेश रसाइलीले बताउनुभयो।
कार्यक्रमलाई जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्मा, मन्त्रालयका स्वास्थ्य सचिव जनार्दन पन्थी, राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरी लगायतले यो कार्य प्रशंसनीय भएको बताउनुभयो ।
त्यस अवसरमा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णकुमार गिरीले लुम्बिनीमा ८ वटा आँखा अस्पताल छ । तर, ति अस्पतालहरुमा १२ देखि १५ जनासम्म नेत्र विशेषज्ञ आबश्यक पर्ने भएपनि अहिले ७/८ जना मात्रै हुदा सेवा प्रवाहमा समस्या हुने गरेको उहाँको भनाई छ ।
कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
लाइभदाङ । २० चैत्र २०८०, मंगलवार १९:१८ बजे