राप्तीको भैलो महोत्सवमा २० समूह सहभागी हुँदै, कार्यक्रमस्थल परिवर्तन

मसुरिया, ५ मंसिर ।
दाङको राप्ती गाउँपालिकामा मंसिर ८ गते आयोजना हुने ‘देउसीभैलो महोत्सव–२०८३’ मा २० वटा भैलो समूहले सहभागिता जनाउने भएका छन्। यसअघि गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन गर्ने तय भएको महोत्सवको स्थान परिवर्तन गरी वडा नम्बर ३ स्थित श्रीचौर खेलमैदानमा आयोजना गरिने भएको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को भाषा तथा संस्कृति कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको महोत्सवमा सहभागी हुन मंसिर ४ गतेसम्म नाम दर्ता गर्ने समयसीमा तोकिएको थियो। निर्धारित समयभित्र २० वटा समूहले नाम दर्ता गराएका हुन्।


स्थानीय मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्परागत पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ। महोत्सवमा सहभागी समूहले परम्परागत शैलीमा देउसीभैलो प्रस्तुत गर्नेछन्। मौलिकता कायम राख्न डिजे तथा स्पिकर प्रयोगमा रोक लगाइएको छ।

मंसिर ८ गते बिहान ११ बजेदेखि सुरु हुने महोत्सवमा विभिन्न राजनीतिक दलका प्रमुख, सामाजिक संघसंस्था,टोल विकास संस्था,भैलो समूह लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको गाउँपालिकाले जनाएको छ।

महोत्सवले लोप हुँदै गएका सांस्कृतिक परम्पराको संरक्षणसँगै नयाँ पुस्तामा मौलिक कला र संस्कृतिप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।