दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,बस पनि पल्टियो

तस्बिरः उज्जवल आचार्य

दाङ,५ पुस । दाङमा बस र मोटरसाईकल ठोक्किदा मोटरसाईकलको मृत्यु भएको छ । शुक्रबार दिउँसो घोराही उपमहानगरपालिका–१० निवासी मोटरसाइकल चालक ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापाका अनुसार दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

बस पनि अनियन्त्रित भइ पल्टिएको छ । दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् ।


तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका १० गुर्जे खोलानजिक ठोक्किएका थिए ।

बस चालक घोराही–१८, फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताएको छ ।