रुकुम घटना प्रकरणमा २४ जनालाई जन्मकैदको फैसला

रुकुम पश्चिम, २० मंसिर ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको छ । मङ्गलवार न्यायाधीश खड्कबहादुर केसीको इजलासले थुनामा रहेका २३ र तारेखमा रिहा भएका १ गरी २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले आठ जनालाई सफाइ दिएको छ । हत्या गरिएका नवराज विककी प्रेमिका, प्रेमिकाकी आमालाई अदालतले जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद फैसला गरेको छ । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका नवराज विक र उहाँका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।


उनीहरूको शव दुई हप्तासम्मको खोजीपछि भेरी नदी किनारबाट सङ्कलन गरिएको थियो । त्यस घटनामा १२ जना घाइते भएका थिए । यो घटनाको मुद्दामा गएको आइतवारदेखि अन्तिम सुनुवाइ शुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो । दोषीहरूलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको पनि फैसला भएको छ । नवराजका बुबा मुनलालको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये किशोरीकी आमा धरौटीमा र अरू १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।