खुकुरी प्रहार गर्ने तीन जना पक्राउ

तुलसीपुर, २ मंसिर । दाङ प्रहरीले धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई पक्राउ गरेको छ । धारिलो हतियार खुकुरी प्रहार गरी फरार भएका तीन जनालाई शुक्रबार १ बजेको समयमा घोराही उपमहानगरपालिका–९ स्थित तेघरामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ निवासी २४ वर्षिय शैलेश शाह, घोराही–१५ निवासी २५ वर्षिय मिस्चल बुढामगर र सोही ठाउँ निवासी २५ वर्षिय नवराज श्रेष्ठ रहेका छन् । बिहीबार अन्दाजी पौने १० बजेतिर घोराही उपमहानगरपालिका–१५ गोरखा हस्पिटल रोड नजिकै हिडीरहेको अवस्थामा घोराही–१५ निवासी २१ वर्षिय कृतिक बुढामगरमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको भएपनि उहाँको त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । साथै प्रहरीले उनीमाथि खुकुरी प्रहार गर्ने तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको बताएको छ ।