काँग्रेसकै नेताले सरकार एक सय दिन पनि टिक्दैन भन्नुहुन्छ : उपमहासचिब पुन

दाङ, ४ भदौ । नेकपा माओवादी केन्द्रका उपमहासचिब बर्षमान पुनले यो सरकार एक सय दिन भन्दा बढि नटिक्ने कुरा काँग्रेसकै नेताहरुले भन्ने गरेको बताएका छन् ।

प्रेस सेन्टर दाङको आयोजनामा मंगलबार दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताए ।‘काँग्रेसकै एवान नेताहरुले यो सरकार एकसय दिन भन्दा बढि टिक्दैन भनेर भन्नुहुन्छ’,उनले भने‘तर, हामी सरकारको लोभमा छैनौं, सशक्त प्रतिपक्षकै भूमिकामा रहनेछौं ।’

उनले प्रतिपक्षमा रहेर जनताका आवाज उठाउने बताए ।‘हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउछौं’,उनले भने‘ हामी सधै सरकारमा हुँदा जनतासंगको सम्बन्ध टुटेको छ, हामीले आफ्ना कम्जोरी पनि जनतालाई भन्ने छौं र सुधारको बाटोमा जानेछौं ।’ यस अघिको प्रचण्ड नेतृत्वको सरकारले शुसासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेको भन्दै त्यसमा जनता खुसी भएको समेत उनले बताए ।


बर्तमान सरकारले संविधान संसोधनको नारा लगाएको भन्दै सहभागिता मुलक समावेशीलाई संसोधन गर्न खोजे त्यसको जनताबाटै विरोध हुने समेत उपमहासचिब पुनको भनाई छ । उनले सकारात्मक रुपले संविधान संसोधन गर्ने कार्यलाई स्वीकार गर्न सकिने बताए ।

साथै उनले जनता निरास भएको भन्दै बंगलादेशलगायतमा देखिएको समस्या नेपालमा पनि आउने सक्ने कुराको संकेत गरे ।‘लन्डन पछि युकेमा लेबर पार्टीको सरकार आएको थियो, गणितमा राम्रो राम्रो मेजुरीटी तर, त्यहाँका जनताले फालिदिए’,उनले भने‘ बंगलादेशमा सेख हसिनाको पनि गणित मजवुद थियो, तर जनताले पर्खेनन्, श्रीलंकामा पनि त्यस्तै भयो ।’

त्यसैले जनतालाई कमजोर ठान्न नहुँने उनले बताए । प्रेस सेन्टर दाङका कार्यबहाक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब जनक नेपालीले गरेका थिए ।