
तुल बहादुर कवँर मगर
सिसहनियाँ, ३ जेठ।
दाङको राप्ती गाउँपालिका–५ स्थित सिङ्गे गाउँको नाम परिवर्तन गरि ‘शिवनगर’ राखिएको छ। शनिबार आयोजित गाउँ भेलाबाट उक्त नाम परिवर्तन गरिएको हो।
शिवनगर गाउँ घोषणा कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले टोल विकास संस्थाको सक्रियता र स्थानीयवासीहरूको एकताले गाउँलाई नयाँ रूप दिन सकिने बताउनुभयो। उहाँले नाम परिवर्तन एउटा प्रक्रिया नभई गाउँलेको सोच, चाहना र भविष्यप्रतिको आकांक्षाको प्रतिविम्ब भएको उल्लेख गर्दै आगामी दिनमा शिवनगरलाई नमुना बस्तीको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
शिवनगर टोल घोषणासँगै विभिन्न गल्ली तथा चोकहरूको समेत नयाँ नाम नामकरण गरिएको छ। उक्त अवसरमा टोल विकास संस्थाले गाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याएका आधा दर्जनभन्दा बढी व्यक्तिहरूलाई सम्मान गरेको छ।
गाउँको सामाजिक तथा सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदानका पुर्याएको भन्दै विपना अधिकारी, सामाजिक उद्यमशीलता क्षेत्रमा योगदान पुर्याएको भन्दै भगवता अधिकारी, स्मार्ट कार्यक्रमको सफल कार्यान्वयन कर्ता कृषक मोतिराम घर्ती, सरसफाइ क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुर्याएको भन्दै खड्कबहादुर चौधरी र गोल्ड मेडलिस्ट इन्जिनियर सन्तोष गिरीलाई सम्मानपत्र प्रदान गरि सम्मान गरिएको हो।



त्यसैगरी, सिङ्गे सिँचाइ योजनाका लागि जग्गा दान गर्ने विष्णु भण्डारीलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी विवेक पाण्डे र सृया परियारलाई जनही नगद २ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
सो अवसरमा टोल विकास संस्थाका अध्यक्ष रमेश अधिकारीले गाउँका विभिन्न विकास योजनाहरू अघि सार्दै पालिका अध्यक्ष र वडाध्यक्षलाई औपचारिक मागपत्र बुझाउनु भएको थियो ।
कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष देवप्रसाद चौधरी,इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख वरिष्ठ सई रकम खड्का, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भरतप्रसाद पाण्डे, टोल विकास संस्थाकी कमला घिमिरेलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा गाउँका समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
लाइभदाङ । ४ जेष्ठ २०८२, शनिबार १६:१४ बजे