अष्ट्रेलिया हुँदा ‘कोट म्यारिज’, नेपाल आउँदा तोड्न खोजेपछि…

दाङ, १५ साउन ।
दाङ जिल्ला अदालतले अष्ट्रेलियामा विवाह गरेको एक जोडिको विवाहलाई मान्यता दिएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले साउन ४ गते गरेको अन्तिम फैसला अन्तर्गत उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियामा गएको अबस्थामा गरिएको विवाहलाई मान्यता दिएको हो । उक्त विवाहको सन्दर्भमा विवाद भएपछि उक्त जोडी अदालत गएको थियो । दाङ राप्ती गाउँपालिकको पिपरी घर भई हाल घोराही उपमहानगरपालिका वडा नं १५, बस्दै आएकी चौधरीले श्रीमान राप्ती गाउँपालिकाको पिपरि निवासी शिशिर चौधरी विरुद्ध विवाहको मान्यताकालागि अदालतमा मुद्दा दर्ता गरेकी थिईन् ।

के थियो घटना ?
वर्षा र शिशिर उच्च शिक्षा अध्ययनका लागि २०७५ मंसिरमा अष्ट्रेलियाको सिड्नी पुगेका थिए । सोही क्रममा उनीहरूबीच मायाप्रेम बसी २०८० फागुन २४ गते अष्ट्रेलियामा‘डेथ एण्ड म्यारिज रजिष्ट्रेसन एक्ट १९९५’ बमोजिम विवाह भएको थियो । विवाहको केही समयपछि दाम्पत्य जीवनमा विवाद उत्पन्न भयो । वर्षाले आफ्ना पतिले शारीरिक तथा मानसिक यातना दिई २०८० माघमा घरबाट निकालेको र नेपाल फर्किएपछि सासु–ससुराले समेत घरमा बस्न नदिएको भन्दै २०८१ असार १३ मा अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । प्रतिवादी शिशिर चौधरीले उक्त विवाह केवल अष्ट्रेलियामा कानुनी सुविधा लिनका लागि गरिएको ‘अनौपचारिक कोर्ट म्यारिज’ मात्र भएको र नेपालमा यसले मान्यता नपाउने दाबी गरेका थिए ।

उनले वर्षा आफ्नो पत्नी नभएको जिकिर गर्दै अंश दिनु नपर्ने तर्क पेश गरेका थिए । यद्यपि, अदालतले उनीहरूबीचको विवाहलाई वैध मान्दै वर्षालाई अंशियार ठहर गरेको छ । शिशिरले आफ्ना बुबाबाट २०६३ सालमै अंश लिई छुट्टिसकेको देखिएकाले, अब उनको नाममा रहेको सम्पत्तिलाई दुई भाग लगाई वर्षालाई एक भाग अंश दिने फैसला भएको छ  ।


किन गरिन्छ ‘कोर्ट’ म्यारिज
विदेशमा कोर्ट म्यारिज गर्नुको मुख्य कारण कानुनी मान्यता र प्रक्रियागत सहजता नै हो । विदेशको अध्यागमन विभागले डिपेन्डेन्ट भिसा, पीआर वा ग्रीनकार्डको आवेदनका लागि सामाजिक वा धार्मिक विवाहभन्दा पनि अदालत वा स्थानीय निकायले जारी गरेको आधिकारिक कानुनी विवाह प्रमाणपत्रलाई मात्र मान्यता दिन्छ । यसका साथै, त्यहाँको स्वास्थ्य बीमामा पार्टनरलाई जोड्न, संयुक्त बैंक खाता खोल्न, सम्पत्ति खरिद गर्न र करमा छुट पाउन कोर्ट म्यारिज अनिवार्य जस्तै हुन्छ ।

अर्को मुख्य कारण समय, खर्च र धार्मिक र नागरिकताको सहजता हो। विदेशको व्यस्त जीवनशैली र सीमित बिदाका कारण परम्परागत रूपमा ठूलो भोजभतेर गरेर विवाह गर्न सम्भव नहुने हुँदा धेरैले कम खर्च र थोरै समयमै सम्पन्न हुने कोर्ट म्यारिज रोज्छन् । साथै, फरक–फरक देशका नागरिक वा फरक धर्मका जोडीहरूका लागि कुनै धार्मिक बन्धनविना कानुनी रूपमा एक हुन कोर्ट म्यारिज नै सबैभन्दा सुरक्षित र सरल माध्यम हो ।