तीन करोड भन्दा साना योजना प्रदेश र स्थानीय तहलाई दिन्छौंः प्रधानमन्त्री

दीपक बोहरा
दाङ, १९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयतालाई बलियो बनाउन प्रदेशको भूमिका महत्वपूर्ण हुने बताएका छन् । लुम्बिनी प्रदेशसभाको हिउदे अधिवेशनलाई आज सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेशलाई बलियो बनाए मात्रै संघीय लोकतान्त्रि गणतन्त्र बलियो हुने भन्दै प्रदेशलाई उदाहरणी बनाउनु पर्ने बताए ।“नेपालको संघीयता विश्वमै नविनतम अभ्यास हो, कयौं देश भन्दा मौलिक छ”, उनले भने“प्रदेशमा देखिएका हरेक चुनौतिलाई पारगर्दै सम्भावनाहरु बोकेर अगाडी बढ्नु पर्छ ।”

संघीयता विरोधी आवाजहरुलाई विकास र ब्यहारले जवाफ दिनुपर्ने समेत प्रधानमन्त्री प्रचण्डले बताए । प्रदेशले बलियो बनाउनकालागि कानुन निर्माणको प्रक्रिया समेत अगाडी बढेको उनले बताए । शिक्षा ऐनको मस्यौदा संसदमा गएको तथा संघीय निजामति ऐन पनि केही दिनमा संसदमा दर्ता हुने प्रधानमन्त्री प्रचण्डले बताए । त्यस्तै प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको उनले बताए । संघीय प्रहरी ऐन पनि चालु संघीय सदनमा प्रस्तुत गर्ने तयारी रहेको छ । यी कानुन निर्माण भइ कार्यान्वयन भएमा प्रदेश थप बलियो हुने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

संबिधान निर्माण भएको ८ बर्ष भइसक्दा पनि संघीयता कार्यान्वयनमा रुची नदेखाउने, वित्तिय र प्रशासनीक अधिकार हस्तानतरण गर्न नचहाने प्रबृति हावी हुँदा पनि समस्या रहेको भन्दै यसलाई तोड्ने समेत उनले बताए ।


साथै उनले तीन करोड भन्दा साना योजनाहरु प्रदेश तथा स्थानीय तहले सञ्चालन गर्ने गरि दिने तयारी गरेको बताए । अहिले संघले शसर्तका नाममा केन्द्रबाट योजना तोकेर पठाउने गरेको भन्दै यो सोचलाई तोडेर प्रदेश र स्थानीय तहलाई अधिकार दिने गरि तयारी गरेको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

लुम्बिनी प्रदेश शान्ति र क्रान्तिको थलो रहेको समेत प्रधानमन्त्री प्रचण्डले बताए । शान्तिका अग्रगुत गौतम बुद्धको जन्मस्थल पनि लुम्बिनी भएको र क्रान्तिको उद्गम थलो पनि भएको बताए । उनले लुम्बिनीमा पर्यटनको सम्भावना रहेकाले यसमा जोड दिनुपर्ने समेत बताए ।