मर्यादित रुपले परिक्षा सञ्चालन गर्न नगरप्रमुखको निर्देशन

प्रिया स्मृती गजमेर,
लमही, २ चैत  । दाङ लमही नगरपालिकामा यस वर्षको वार्षिक परिक्षा यहि चैत्र ४ गतेदेखि शुरु हुँदै छ । पालिकाले प्रकाशन गरेको वार्षिक क्यालेन्डर अनुशार परिक्षा हुन लागेको हो । परिक्षा संचालनका लागि सम्पूर्ण तयारी पूरा भएको लमही नगरपालिकाले जनाएको छ ।

परिक्षाका लागि सबै सामुदायिक विद्यालयमा पालिकाले प्रश्नपत्र र उत्तर पुस्तिका पठाई सकेको शिक्षा शाखा प्रमुख भवानी गिरीले जानकारी दिनु भयो ।

लमही नगरपालिकाले कक्षा ५ र ८ को पालिका स्तरीय वार्षिक परिक्षाको केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम गरेको छ । प्राथमिक विद्यालय तहका प्रधानाध्यापकलाई आफ्नै विद्यालयको केन्द्राध्यक्ष तोकिएको छ भने कक्षा ८ को हकमा परीक्षा केन्द्र फरक फरक विद्यालयमा तोकिएको शिक्षा अधिकृत गिरीले बताउनु भयो ।

लमही नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर -६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले मर्यादित रुपमा परीक्षा संचालन हुनु पर्ने भनाई राख्नु भएको थियो ।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले निर्देशिकामा उल्लेखित भएका कुरालाई आत्मसात गर्दै परिक्षा संचालित गर्न सुझाव दिनु भएको छ । त्यसैगरी लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले यहि चैत्र ४ गतेदेखि सन्चालन हुन लागेको वार्षिक परिक्षामा बालबालिकाको आत्मबल बढ्ने खालका उत्प्रेरणा दिन निर्देशन दिनु भएको छ । सानो कमजोरीले वर्ष भरी मेहनत गरेका नानी बाबुहरुको भविष्यमाथी खेलवाड नहोस, शान्त वातावरणमा परिक्षा दिने माहोल मिलाउनु होला”- उपप्रमुख योगीले भन्नू भयो ।


लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले भयरहित, सुरक्षित र मर्यादित रुपमा परिक्षा संचालन गर्न नगरपालिका मातहतका सबै विद्यालयलाई निर्देशन दिनु भएको छ । कोहि कसैबाट परिक्षालाई बिथोल्न खोज्ने, बदमासी गर्न खोज्नेलाई प्रचलित कानून बमोजिम कडा कारबाही समेत गर्ने नगर प्रमुख चौधरीको भनाई छ ।

“अघिल्लो वर्षमा जे भयो भयो, यो वर्ष समग्र विद्यालयको नतिजा राम्रो आउनु पर्छ, शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्यायौं भनेर नगरपालिका आउनुस हामी गौरवका साथ सम्मान गर्न आतुर छौं “- नगर प्रमुख चौधरीले भन्नू भयो ।

लमही नगरपालिका भित्र माध्यामिक विद्यालय १०, आधारभुत विद्यालय ७ र प्राथमिक तहका विद्यालय १० गरि २७ वटा रहेका छन ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, सामाजिक विकास समितिका अध्यक्ष तथा लमही नगरपालिका-६ का वडा अध्यक्ष श्याम नारायण चौधरी र सबै विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रास अम्विका शर्माले गर्नु भएको थियो।