‘मृत्यु संस्कार परिबर्तन गर्नुपर्छ’

दाङ, ७ माघ । अहिले पनि मान्छेको मृत्यु भएमा १३ दिनसम्म काजकिरिया गर्ने चलन छ । परम्परागत रुपमा चलिआएको यो चलनलाई समय सापेक्ष बनाउनु पर्ने आवाज उठ्न थालेको छ ।“समाज परिबर्तन भएको छ, परिबर्तनसंगै मृत्यु संस्कारलाई पनि परिबर्तन गर्न सक्नु पर्छ’, मगर संघ तुलसीपुरका सल्लाहकार टोपबहादुुर घर्तीले भने“रुढीबादी संस्कार सबै एक जुट भएमा परिबर्तन गर्न सकिन्छ ।”

सामाजिक दवावले गर्दा अझै पनि यो परम्परालाई सुधार गर्न सकिएको अबस्था छैन । अहिले पनि १३ दिनसम्म नुन नखाने, कपाल खौरिने गर्दा पैसा पनि खर्च हुने र समय पनि त्यतिकै वित्ने भएकाले यसलाई सकेसम्म छोटो बनाउनु पर्ने माओवादी केन्द्र तुलसीपुरका इञ्चार्ज प्रेमराज वलीले बताए ।“मैले मेरो वुवाको किरिया गरिँन, समाज, दिदी बहिनीहरुले भनेपछि कपालसम्म फाले, तर, किरिया गरिन”,उनले भने “हामीले विस्तारै यसलाई सुधार गरेर लैजानु पर्छ ।”

मृत्यु भन्दा पहिले राम्रोसंग हेरचाह गर्न सकेमात्रै आफ्नो धर्म पूरा हुने भन्दै मृत्यु पछि गरिने संस्कारले मृत्यु भएर गएकाहरुले केही पनि नपाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माको भनाई छ । समय पनि छोटो बनाउने र अनाबश्यक खर्च पनि कम गर्नुपर्ने उनको भनाई थियो । अनाबश्यक रुपमा हुने त्यो खर्चलाई सामाजिक काममा लगाए, त्यसले उपलब्धी दिने उनले बताईन् ।

तुलसीपुर ५ निवासी धनबहादुर बुढा मगरले आफ्नो आमाको काजकिरिया नगरेर तेस्रो दिनमा माओवादी केन्द्र तुलसीपर ५ लाई ५० हजार र मगर संघ दाङलाई ५० हजार रुपैँया सहयोग गरे । उनले भने “काजकिरियामा हुने खर्चलाई कटाएर मैले दुई संस्थालाई सहयोग गरेँ ।” अब राम्रो कुराको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै सामाजबाट हुने हरेक चुनौतिलाई चिर्दै यस्तो कार्य गरेको बताए ।


आईतबार बुढा मगरकी आमा शहीद परिवार पार्वती बुढामगरको श्रद्धाञ्जली सभामा बक्ताहरुले यस्तो बताए । बुढा मगरको शुक्रबार ८३ बर्षमा निधन भएको थियो । उनका परिवारले काजकिरिया नगरेर तेस्रो दिनमा श्रद्धाञ्जलीसभा आयोजना गरेको थियो । माओवादी केन्द्र तुलसीपुर ५ कमिटिको आयोजनामा कार्यक्रम भएको हो । पार्टीका वडा इञ्चार्ज मिनराज भण्डारीको अध्यक्षत तथा पार्टीका केन्द्रीय सदस्य दामा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, नेता भिम कुमारी बाँठा, मगर मुक्ती मोर्चा तुलसीपुरका अध्यक्ष हरिश चन्द्र बुढा, परिवारका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पार्टीका वडा कमिटि अध्यक्ष बेदप्रसाद वलीले गरेका थिए ।