दाङ, ९ चैत ।
आधुनिक भनिएको तुलसीपुर बसपार्क अस्तब्यस्त छ । बसपार्कमा एक हप्ता अघि विद्युतको लाईन काटिएको छ, दुई हप्ता अघि नै खानेपानीको लाईन काटिएको थियो । विद्युत कार्यालयका ८ लाख रुपैँया बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत काटिएको हो । अहिलेसम्म पनि त्यहाँ विद्युत जडान गर्न कुनै पहल भएको छैन । त्यहाँ पानी काटिएको दुई हप्ता हुन लाग्यो । आधुनिक बसपार्क बनाएपछि त्यहाँ ५२ वटा सटर भाडामा छन् । विद्युत नहुँदा त्यहाँका होटेल व्यबसायी ठप्प छन् । गर्मी मौसम सुरु भएसंगै फ्रिज चलाउनु पर्ने हुन्छ । मोवाईल पसलहरुमा अनिवार्य विद्युत चाहिन्छ । टिकेट काउन्टरहरुमा टिकेट काट्नकालागि विद्युत नुहुँदा समस्या हुनेगर्छ । पानी नहुँदा शौचालय दिशाले भरिएको छ । तर, यो समस्या समाधान गर्न कतैबाट पनि पहल नभएको स्थानीय व्यबसायीहरु बताउछन् ।‘विद्यतु नहुँदा हाम्रो व्यबसाय नै चौपट्ट भएको छ’,सटरमा व्यबसाय गर्दै आएकी प्रमिला कठायतले भनिन्‘विद्युत नहुँदा फ्रिज पनि चल्दैन, अहिले २५ रुपैँयाको ब्यापार गर्न पनि फ्रिज चाहिन्छ ।’
२०७७ देखि त्यहाँ व्यबसायीलाई सटर भाडामा प्रदान गरिएको हो । त्यतिबेला भाडा मात्रै तिर्ने तर, पानी विद्युतको नतिर्ने सहमति भएको अर्का ब्यबसायी जिए नेपालीले बताए । तर, अहिलेसम्म त्यहाँ कुनै विद्युत महसुल बुझाईएको छैन । ‘यहाँको पूर्वतर्फका सटरको भाडा १० हजार र पश्चिम तर्फका सटरको ८ हजार तिर्ने सहमति भएको हो’, उनले भने‘तर,अहिले पानी, विद्युतको पनि हामीले तिनुपर्ने भन्ने कुरा आएको छ ।’
तर, ठेकेदार कम्पनीले भने त्यस्तो कुनै लिखित सहमति नभएको बताएको छ ।‘पहिले पनि मैले नै ठेक्का पाएको थिएँ’, बुढाथोकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भिमबहादुर बुढाथोकीले भने‘त्यतिबेला पनि सटर लिनेलाई पानी विद्युतको मात्रै तिर्ने भन्ने कुनै लिखित सहमति भएको थिएन ।’ अहिले पनि पुनः बुढाथोकी टे«ेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको छ । फागुन २० गते देखि बसपार्ककोलागि बुढाथोकी ट्रेड एण्ड सप्लायर्स काम गर्ने गरि कार्यादेश पनि दिईएको छ । सोही कम्पनीले पनि यस अघि पनि बसपार्क पूर्वाधार शूल्क उठाउने जिम्मा लिएको थियो । तर, केही समयमै त्यो सम्झौता तोडिएको थियो । २०७८ बैशाखदेखि फागुनसम्म उपमहानगरपालिकाले नै भाडा उठाउने काम गरिरहेको थियो । पुनः पुसमा टेण्डर खुल्ला गर्दा त्यही बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको थियो । ठेक्का पाएपछि बुढाथोकी ट्रेड एण्ड सप्लायर्स त्यहाँको ब्यबस्थापनकालागि सक्रियता बढाएको छ । त्यसकालागि सम्झौता गर्न सटर भाडामा लिएकाहरुलाई चिठि पठाएको बुढाथोकीले भने । तर,अहिलेसम्म सम्झौता गर्न नआएको उनको भनाई छ । सटर भाडामा लिएकाहरुले यस अघिका महिनाहरुको पनि भाडा तथा विद्युत महशुल नबुझाएकाले भाडा र महशुलसहित सम्झौता गर्न बोलएको उनले बताए । साथै भाडा बढाउने समेत तयारी रहेको बुढाथोकीले बताए ।
उनका अनुसार २० प्रतिशत भाडा बढाउन मिल्ने भन्दै सोही अनुसार आफूले भाडा बढाउन लागेको बताए । अहिले पूर्वतर्फका सटरहरुलाई १४ हजार र पश्चिम तर्फका सटरलाई १२ हजार बनाउने गरि तयारी गरेको बुढाथोकीले बताए ।
तर, भाडा बढेमा आफूहरुले त्यो भाडा बुझाउन नसक्ने व्यबसायी रुपलाल केसीले बताए ।‘नाला,फुटपाथ पनि हटाउन सकेको छैन, गेट पनि बनाउन सकेको छैन’,उनले भने‘अहिले आएर भाडा बढाउने भन्ने कुरा गरेको छ, त्यो सुहाउदो गरेर हेरफेर गर्न सकिएला, तर धेरै बढाए सकिदैन ।’
त्यहाँ १३ वटा प्रालिका काउन्टरहरु पनि छन् । काउन्टरमा पनि विद्युत नहुँदा उत्तिकै समस्या हुने गरेको त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिका रुकुम–सल्यानका सदस्य दीपक कुमार बुढाथोकीले बताए ।
उपमहानगरपालिकाले पनि सम्बन्धित सटर भाडा लिएकाहरुले नै विद्युत महशुल तिर्नुपर्ने बताएको छ । उपमहागरपालिकाका राजश्व शाखा प्रमुख भेषराज चन्दका अनुसार कोभिडपछिकोे छुटसहित त्यसपछि दामासाहीका हिसाबले विद्युत महशुल बुझाउनुपर्ने बताएका थिए । उपमहानगरपालिकाले सार्वजनिक शौचालय, छोटो र लामो समयको पार्किङ, प्रवेश तथा निकासी शूल्क, होर्डिङ बोर्डसहित सार्वजनिक सूचना, टर्मिनल भवन, ५२ सटरको शूल्क उठाउने जिम्मा बुढाथोकी ट्रेड एण्ड सप्लायर्सलाई दिईएको छ । बार्षिक भ्याटबाहेक २ करोड २३ लाख बुझाउने गरि ठेक्का सम्झौता भएको हो ।
लाइभदाङ । ९ चैत्र २०७८, बुधबार १६:३९ बजे