
तुलसीपुर, २२ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री बिपिन कुमार आचार्यले टरिगाउँ विमानस्थलको स्तरोन्नतिलाई लिएर हुने अनावश्यक राजनीतिक खिचातानी र स्थानगत विवाद तत्काल बन्द गर्न कडा चेतावनी दिएका छन् । रास्वपा दाङद्वारा तुलसीपुरमा आयोजित खुल्ला छलफल कार्यक्रममा बोल्दै महामन्त्री आचार्यले देशको सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै टरिगाउँ विमानस्थलकै विस्तार गर्नु अहिलेको एक मात्र व्यावहारिक विकल्प भएको स्पष्ट पारे ।
विगतदेखि चल्दै आएको ‘नारायणपुर भर्सेस टरिगाउँ’ विवादप्रति कडा आपत्ति जनाउँदै महामन्त्री आचार्यले भने‘हामीले नारायणपुर भर्सेस टरिगाउँको डिबेट बन्द गर्नुपर्छ ।’ सीमित स्रोतसाधन भएको देशमा रिसोर्सको म्याक्सिमाइजेसन गर्न सकिएन भने त्यो फेरि नेताको इगो मसाज मात्रै हुने उनको भनाई छ ।
सत्तामा पुगेपछि जहाँतहीँ नयाँ संरचना बनाउन खोज्ने प्रवृत्तिबाट आफूहरू टाढा रहेको उल्लेख गर्दै उनले विमानस्थल निर्माण रातारात हुने विषय नभएकाले प्राविधिक प्रक्रियालाई बुझिदिन आग्रह गरे ।
टारिगाउँ विमानस्थललाई केवल दाङको विषयमा मात्र सीमित राख्न नहुने तर्क गर्दै आचार्यले यसको क्षेत्रीय र आर्थिक महत्त्व दर्शाए । यसले प्युठान, सल्यान, रोल्पा, र रुकुमका लगभग १७ देखि १८ लाख जनसंख्यालाई प्रत्यक्ष(अप्रत्यक्ष असर पार्ने उनले बताए । यो केवल हवाई कनेक्टिभिटी मात्र नभएर यहाँको समग्र अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य आधार रहेको समेत उनको भनाई छ ।



लाइभदाङ । २२ आश्विन २०८३, बिहीबार ०७:३६ बजे