कोरोनाले बन्द भएको आयुर्वेद शिक्षण अस्पतालको ओपीडी सञ्चालनमा

दीपक बोहरा
तुलसीपुर, २२ असोज ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको (बहिरंग विभाग) ओपीडी सेवा पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीको बेला सोही भवन कोरोना अस्पतालका रुपमा प्रयोग भएपछि ओपीडी सेवा बन्द भएको थियो ।

ओपीडी बन्द हुँदा केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेदमा स्नातक (विएएमएस) अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक अभ्यासकालागि अन्य अस्पतालमा जानुपर्ने बाध्यता रहेको थियो । तर, अब त्यो अबस्थाको अन्त्य भएको विद्यापीठका प्राचार्य मंगलाकान्त झाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरु प्रयोगात्मक अभ्यासकालागि प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती आँखा अस्पताल रक्षाचौरसहित अन्य बाहिरी जिल्लामा समेत जानुपर्ने अबस्था थियो ।

अब भने शिक्षण अस्पतालमै प्रयोगात्मक अभ्यास हुने उहाँले बताउनुभयो ।“ओपीडी बन्द हुँदा हामीले विद्यार्थीलाई इन्टर्नसीपकालागि बाहिर पठाउनु पथ्र्यो”,उहाँले भन्नुभयो“अब त्यो समस्या पनि हट्नेभयो ।”


साथै आयुर्वेद उपचार गर्न चहाने नागरिककालागि समेत सहज हुने उहाँको भनाई छ । आवश्यक जनशक्ति र बजेटको व्यवस्थापन हुनासाथ भविष्यमा भर्ना सेवा सञ्चालन गर्ने लक्ष्य रहेको छ । त्यस्तै स्वर्ण प्राशन जस्ता विशिष्ट सेवाहरू विस्तार गर्ने योजना रहेको समेत उहाँको भनाई    छ ।

पुनः ओपीडी सेवा सञ्चालन आउने कुराले विश्वविद्यालयलाई थप उपचारमा पु¥याउन मद्दत गर्ने नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मीले बताउनुभयो । उहाँले विश्व समुदाय नै संस्कृत भाषा, आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सातर्फ आकर्षित भइरहेको समेत बताउनुभयो ।

हाल विद्यापीठमा दुई सय विद्यार्थी अध्ययनरत छन् । हालसम्म दुईसय ३३ जना विद्यार्थीहरु उतिर्ण भइसकेका छन् । जसमध्ये दुईसय १५ जना चिकित्सकको रूपमा सेवा प्रदान गरीराखेका छन्, भने बाकी १८ जना प्रयोगात्मक गरिरहेका छन् । शिक्षण अस्पतालमा हाल कायचिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, स्त्री तथा प्रसुती पंचकर्म सेवा, बालरोग सेवा, प्याथोलोजी तथा मानसरोग सेवा सञ्चालनमा छन् । केही समयपछि विरामी भर्ना सेवा तथा स्वर्णविन्दू प्रासन सेवा पनि सूचारु गर्ने गरि योजना बनाएको समेत प्राचार्य झाले बताउनुभयो ।