
दीपक बोहरा
दाङ,२९ कात्तिक ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित विकटको विद्यालय मावि प्रतापकोटमा कक्षा १० मा पढ्ने छात्राक रेखा थापालाई कथा भन्ने कुरा किताबमा मात्रै पढेकी थिइन । तर, कसरी कथा लेख्ने?, कथाले सामाजिक विषयबस्तुलाई कसरी समेट्छ?, कथाले के सन्देश दिन्छ? लगायतका कुरा थाहा थिएन ।
त्यस्तै सोही विद्यालयकी सञ्जिता ठाडा मगरलाई पनि कथाका बारेमा खासै जानकारी थिएन । किताबमा कथा पढ्ने गरेको भएपनि गहिरिएर बुझेकी थिइँनन् ।तर, विद्यालयमा तीन दिनसम्म कथा लेखन प्रशिक्षण भएपछि भने कथा लेख्न मात्रै होईन्, कथाको भाव, सन्देश समेत बुझ्न सक्ने भएका छन् ।“पहिले कथा किताबमा पढ्थ्यौं, तर,अहिले आफै लेख्न सक्ने भएका छौं”,थापाले भनिन्“कथा भनेको भोगेको,देखेको,सुनेको, समाजमा घटेको घटना र कसैले भनेको आधारमा कलात्मक रुपमा लेख्ने विषय रहेछ ।”
कथाले सिर्जनात्मक क्षमता विकास हुने समेत उनको भनाई छ । अमर बन्न, आफ्नो मनको पीडा पोख्न, कसैलाई भन्न नसकेको कुरा पनि कथा मार्फत लेख्ने गरिएको उनको भनाई छ । यसरी कथा लेख्न सिकेपछि विद्यार्थीहरुले आफ्ना गाउँ समाजका कुराहरुलाई कथा मार्फत उतारेका छन् ।
कक्षा ९ की कृष्टी गुरुङले समाजको अन्धविश्वासलाई कथामा उतारेर प्रस्तुत गरिन्, भने कक्षा १० की मनिशा आलेले किसानको परिवारको अबस्थाको कथा प्रस्तुत गरिन् । यसरी विद्यार्थीहरुले आफूले लेखेका कथाहरु पनि सुनाएका थिए । विद्यार्थीहरुलाई तीन दिनसम्म प्रशिक्षक विजयराज आचार्यले प्रशिक्षण दिएका थिए ।
त्यस क्रममा उनले विद्यार्थीहरुले लेखेका कथाहरुलाई पुस्तकका रुपमा प्रकाशन गर्न सकेमा थप हौसला बढ्ने समेत उनले बताए । उनले सरकारी विद्यालयका विद्यार्थीहरु पनि अब्बल हुन्छन्, भन्ने कुरा सोही विद्यालयका विद्यार्थीहरुलाई प्रशिक्षण दिएपछि प्रमाणित भएको बताए ।“सरकारी विद्यालयका विद्यार्थी कमजोर हुन्छन्, भन्ने कुरा गलत हो”,उनले भने ।
गोरखा माध्यामिक विद्यालय तुलसीपुरको सहयोगमा उक्त विद्यालयमा कथा लेखन प्रशिक्षण भएको हो । गोरखाले सोही विद्यालयसंग भगिनी सम्बन्ध गाँसेकाले पटक–पटक सहयोग गर्दै आएको ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले बताए । सोही अनुसार यो पटक सहयोग गरिएको हो ।
यसैबीच विहीबार एक कार्यक्रमका बीच लेखिएका कथाहरु बाचन गरेर सुनाईएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिलामणी बाँठाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले कथा लेखन कार्यले विद्यार्थीहरुको क्षमता विस्तारमा टेवा पुग्ने बताए ।
कथा भनेको गहिरिएर लेख्ने विषय भएकाले यसले विद्यार्थीको लेखन क्षमतामा विकास गर्ने बताए । त्यस अवसरमा तुलसीपुर ३ का वडा सदस्य राजेन्द्र गुरुङ, विद्यालयका सहायक प्रधानाध्यापक शुसिल गिरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।



लाइभदाङ । ३० कार्तिक २०८२, शनिबार १०:४४ बजे