विमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री

दाङ, १९ मंसिर ।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अबस्था आएको बताउनु भएको छ । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले विमामा गुमिरहेको विश्वास फर्काउनु पर्ने बताउनु भयो ।

नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र विमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो । उहाँले कोरोना पछि विमा कम्पनीहरुको विश्वास गुम्दै गएको भन्दै अव विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आबश्यकता अनुसार विमा नीति बनाउने जानकारी दिनु भयो ।

विश्वमा विमा राम्रो छ, उहाँले भन्नु भयो, विमा सुविधा प्राथामिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । विमा नीति आवश्यक छ, उहाँले भन्नु भयो, विमाले त्यो विश्वास दिलाउन सक्नु पर्छ । विमा कम्पनीहरुको गलत कार्यको नियमन प्राधिकरणले गर्नु पर्छ, उहाँले भन्नु भयो, कुरा गरे अनुसार काम गर्नु पर्छ र काम गर्न सक्ने मात्रै विमा वालाले कुरा गर्नु पर्छ ।


कार्यक्रममा सहभागिहरुले विमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरुले कोरोना विमाको रकम अहिले सम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए । त्यसै गरेर कृषिमा वाली विमा गर्नु पर्ने, पूर्वाधारको विमा गर्दा सहज हुनु पर्ने र जीवन विमामा भुक्तानीमा छिटो छरितो गरिनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री धन बहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतकाले धारण राख्नु भएको थियो । विमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिग्देल लगायतकाले उठेका विषयबस्तुमा प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण नेपाल विमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले गरेका थिए ।