मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम

तुलसीपुर, २९ बैशाख ।
तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आर्ट अफ लिभिङको कार्यक्रम सम्पन्न गरिएको छ । विद्यार्थीहरुमा सकारात्मक सोच,नेतृत्व क्षमताका साथै जीवन जिउने कलाका बारेमा ८ दिनसम्म आयोजना गरिएको तालिमको समापन गरिएको हो ।

तालिम समापन कार्यक्रमा बोल्दै माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले विद्यार्थीहरुमा किताबी ज्ञानसँगै जीवनका कुरा पनि सिकाउन आवश्यक रहेको कुरामा जोड दिए । उनले आजको सामाजिक परिवेशले विद्यार्थीको मानसिकता विग्रदै गएको कुरामा जोड दिए । गोरखा माविका प्रधानाध्यापक विजय जिएमले विद्यार्थीहरुमा पछिल्लो निराशा वढ्दै गएको बताउँदै त्यसलाई समयमै समाधान गर्न आवश्यक रहेको कुरामा जोड दिए ।


आर्ट अफ लिभिङका किशोर झाले नेपालका विभिन्न प्राविधिक शिक्षालयहरुमा नेतृत्व क्षमता विकासका लागि कार्यक्रमहरु सञ्चालन गरिएको कुरामा जोड दिए । कार्यक्रममा विद्यार्थीहरुले तालिमबाट आएको परिवर्तनका बारेमा जानकारी गराएका थिए । कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षता भएको कार्यक्रमको सहजिकरण प्रशिक्षक काव्य लम्सालले गरेका थिए ।