
दीपक बोहरा
तुलसीपुर, १० असोज ।
दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत ग्वारखोलामा रहेको पुरानो पुलको एप्रोच स्ल्याब मुनिको माटो खसेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन आवतजावत बन्द गरिएको छ । संगै सटाएर नयाँ निर्माण भइरहेको अबस्थामा सोही नयाँ पुलको जगसँगै टाँसेर गहिरो खाल्डो खनिएको र लगातार परेको पानीका कारण स्ल्याब मुनि थिग्रिएर रहेको माटो तल झर्दा जोखिम बढेका हो ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टका अनुसार पुल र सडक जोड्ने ढलानको माटो खसेपछि पुल माथिबाट सवारी साधन सञ्चालन गर्न अत्यधिक जोखिमपूर्ण भएकाले आवतजावत रोकिएको हो ।
हाल विजौरीबाट राप्ती बबई क्याम्पस हुँदै तुलसीपुर पुग्ने डाइभर्सन प्रयोग गरिएको छ ।
अब पुल मुनिबाट नयाँ पर्खाल उठाएर मर्मत कार्य अघि बढाउने तयारी भइरहेको भन्दै सोही अनुसार पुल सेक्टर नेपालगञ्जसंग कुरा भइरहेको उहाँले बताउनुभयो । शनिबार विहानैदेखि यातायात सेवा ठप्प छ । दाङमा अर्को सूचना नआउँदासम्मकालागि यातायात सेवा समेत ठप्प पारिएको छ ।



लाइभदाङ । १० आश्विन २०८३, शनिबार २२:३४ बजे