‘घोराही बनाऔँ अभियान’ ले १९ वटै वडामा विशेष अभियान चलाउने

घोराही,१२ असोज ।
घोराही उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मलाई समेटेर “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत असोजको अन्तिम साताबाट वडा नम्बर १ मा कार्यक्रमको उद्घाटन गरी क्रमशः सबै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र महत्वका विषयमा विशेष छलफल गरिने भएको हो।

अभियानले प्रत्येक वडाको वस्तुस्थिति पहिचान गरी स्थानीय आवश्यकता र सम्भावनाका आधारमा विकासको योजना निर्माण गर्ने जनाएको छ। वडा तहमा हुने छलफलमा शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता, कृषि, वन, पर्यटन, खेलकुद, साहित्य, कला तथा संस्कृतिलगायतका विषयलाई प्राथमिकताका साथ उठाइनेछ।

“घोराही बनाऔँ अभियान”का संयोजक सबिन प्रियासन चौधरीले घोराहीलाई समग्र रूपमा बुझेर विकासको स्पष्ट खाका निर्माण गर्न वडा–वडामा पुग्ने अभियान सुरु गर्न लागिएको बताए ।

“घोराही एउटा सहर मात्र होइन, सम्भावनाले भरिएको ठूलो भूगोल हो। हरेक वडाको आफ्नै समस्या, सम्भावना र विशेषता छन्। ती सबैलाई पहिचान गरेर योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्छ,” उनले भने, “हाम्रो उद्देश्य समस्या गन्ने मात्र होइन, समस्या पहिचान गरेर समाधानको बाटो खोज्ने हो।”

अभियानका क्रममा स्थानीय नागरिक, टोल विकास संस्था, किसान, युवा, महिला, व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, खेलाडी, साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गरिने बताइएको छ। वडा तहमा प्राप्त सुझाव र समस्यालाई समेटेर प्राथमिकताका आधारमा योजना निर्माण गर्ने अभियानको तयारी छ।

अभियानले “हरेक घर धारो, हरेक गाउँ सिँचाइ”को अवधारणालाई पनि प्राथमिकतामा राखेको छ। खानेपानी तथा सिँचाइको समस्या समाधान, कृषि उत्पादन वृद्धि, किसानलाई बजारसँग जोड्ने, स्थानीय स्रोतसाधनमा आधारित उद्यम स्थापना गर्ने तथा युवालाई रोजगारी र सीपसँग जोड्ने विषयमा छलफल गरिनेछ।

त्यस्तै “एक वडा, एक उद्यम” तथा “टोलटोलमा उद्यमशील कार्यक्रम”मार्फत स्थानीय उत्पादन र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने विषय पनि अभियानको प्राथमिकतामा रहेको छ।


शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षा, खेलकुदलाई शिक्षासँग जोड्ने विषयमा छलफल गरिनेछ। स्वास्थ्यतर्फ सहज स्वास्थ्य सेवा, स्वास्थ्य चौकीको प्रभावकारिता, औषधिको उपलब्धता तथा रोकथाममुखी स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिने अभियानले जनाएको छ।

यसैगरी वन तथा वातावरण संरक्षण, नदी–खोला संरक्षण, हरियाली प्रवद्र्धन, विपद् जोखिम न्यूनीकरण, स्थानीय पर्यटनको विकास, कला–साहित्य तथा संस्कृतिको संरक्षण र खेलकुद पूर्वाधार विकासका विषयमा पनि वडा तहमा छलफल हुने बताइएको छ।

अभियानले घोराहीका १९ वटै वडालाई अलग–अलग इकाइका रूपमा मात्र नभई एउटै समग्र विकास प्रणालीका रूपमा जोडेर हेर्नुपर्नेमा जोड दिएको छ। “वडा नम्बर १ देखि १९ सम्मको विकासलाई एउटै सोच र योजनामा जोड्न सके मात्र समग्र घोराहीको सन्तुलित विकास सम्भव हुन्छ,” संयोजक प्रियासनले भन्नुभयो, “कुनै एउटा वडाको राम्रो अभ्यास अर्को वडामा विस्तार गर्न सकिन्छ। त्यसैले यो अभियान सबै वडाको साझा अभियान हो।”

अभियानले नागरिकको सहभागिता र स्थानीय ज्ञानलाई विकास योजनाको महत्वपूर्ण आधार बनाउने जनाएको छ। टोल र वडा तहबाट आएका सुझावलाई संकलन गरी दीर्घकालीन विकासको खाका निर्माण गर्ने लक्ष्य राखिएको छ।

“घोराहीले मलाई के दियो भन्ने प्रश्नसँगै मैले घोराहीलाई के दिएँ भन्ने सोच पनि विकास गर्नुपर्छ,” प्रियासनले भन्नुभयो, “गुनासोमा होइन, समाधानमुखी बनौँ भन्ने भावनाका साथ वडा–वडाबाट घोराही निर्माणको अभियान अघि बढाउनेछौँ।”

अभियानले “समृद्धि, विकास, सुशासन”लाई मूल आधार बनाउँदै “घोराही हाम्रो हो, घोराहीको विकास हाम्रो जिम्मेवारी हो” भन्ने सन्देशसहित कार्यक्रम अघि बढाउने जनाएको छ ।