बंगलाचुली गाउँपालिकाको बजेट ६३ करोड ५५ लाख

बंगलाचुली,११ असार ।

दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६३ करोड ५५ लाख २० हजारको बजेट विनियोन गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको अध्यक्षतामा बसेको गाउँ सभामा उपाध्यक्ष भक्तबहादुर जिसीले ६३ करोड ५५ लाख २० हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको थियो ।

गाउँपालिकाले शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक सशक्तिकरण, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, आर्थिक विकासलाई मुख्य प्राथिमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले पुँजिगत तर्फ २८ करोड ६१ लाख ७९ हजार अर्थात (४६ प्रतिशत) र चालु तर्फ शिक्षा स्वास्थ्यको तलव भत्ता कार्यक्रम,सामाजिक सुरक्षा रकम ६ करोड ५० लाख सहित ३४ करोड ९३ लाख ४१ हजार अर्थात (५४ प्रतिशत) बजेट विनियोजन गरेको हो ।


उक्त बजेट मध्य नेपाल सरकारलको अनुदान बाट ४५ करोड ८४ लाख, संघिय राजश्व बाँडफाँडबाट १० करोड ९७ लाख, प्रदेश सरकारको अनुदान बाट ३ करोड ४७ लाख,प्रदेश राजस्व बाँडफाँड बाट ७७ लाख र आन्तरीक राजस्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दात १ करोड आय अनुमान गरिएको छ ।

‘सबै मिलीजुली, हामी बनाउँछौँ हाम्रो बंगलाचुली’ भन्ने मुल नाराका साथ गाउँपालिकाले शिक्षामा सबै भन्दा धेरै २० करोड ६५ लाख र स्वाथ्य तर्फ १० करोड १७ लाख गरी जम्मा ३० करोड ८२ लाख अर्थात कुल बजेटको ४९ प्रतिशत बजेट विनियोजन गरेको छ ।

त्यस्तै गाउँपालिकाले तलवभत्ता , कार्यालय संचालन तथा व्यवस्थापन लगायत प्रशासनिक तर्फ ८ करोड अर्थात कुल बजेटको १२ प्रतिशत खर्च अनुमान गरिएको छ । गाउँ सभामा बंगलाचुली गाउँपालिकाको आब २०७९/०८० को आर्थिक विधेयक, २०७९ सभाका सदस्य झविन्द्र वहादुर गाहामगर र बंगलाचुली गाउँपालिकाको आब २०७९/०८० को विनियोजन विधेयक,२०७९सभाका सदस्य मैते पुन मगरले पेस गर्नुभएको थियो ।

यसैविच आजै गाउँसभा बाट पालिका उपाध्यक्ष भक्त बहादुर जिसिको संयोजकत्वमा न्यायिक समिति समेत गठन गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ ले हरेक पालिकामा उपाध्यक्ष वा उपप्रमुख न्यायिक समितिको संयोजक हुने प्रावधान रहेको छ ।