सिङ्गापुरमा कुक तथा म्यानेजरको रूपमा काम गरेका राणा

दाङ, ६ असोज ।
यही असोज १३ गते सम्पन्न हुन गइरहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्दै गएको छ । अधिवेशन आउन अब ७ दिन मात्र बाँकी रहँदा चुनावी सरगर्मीको तापक्रम पनि वृद्धि हुँदै जान थालेको हो ।
यही चुनावी मैदानमा आफूलाई वाणिज्य उपाध्यक्षको उम्मेदवारको रूपमा दर्ज गरेका छन् राजभक्त रानाले । राना युवा व्यवसायी हुन् । त्यसो त युवाका माझमा मात्र नरही हरेक व्यवसायीका माझ लोकप्रिय छन् राना ।

सालिन र भद्र स्वभावका राना उद्योगी व्यवसायीका हकहितका लागि सदैव तल्लीन रहन्छन् । व्यावसायिक सुरक्षा, व्यवसायीका हक अधिकारका लागि आफूलाई समर्पित गर्दै आएका राना कोभिडको समयमा व्यवसायीका लागि सारथि बनेर उभिए । कोभिडको समयमा उपभोक्ताका आधारभूत आवश्यकता परिपूर्तिका लागि रणनीति तय गर्दै गर्दा ‘काविल’ नेतृत्वका रूपमा आफूलाई चिनाउन सफल पनि भए । चाहे उद्योग, व्यवसायमा देखिएका समस्या समाधान गर्नका लागि होस् चाहे उपभोक्तामा देखिएका समस्या निरोपणमा होस् रानाले सदैव आफूलाई ठिङ्गग उभ्याए ।

कम बोल्ने, छिट्टै घुलमिल नहुने रानाका वैयक्तिक स्वभाव हुन् तथापि जिम्मेवारी पूरा गर्ने र समस्या समाधानका लागि पर्ने उनका सकारात्मक स्वभावका कारण पनि उनी सफल व्यवसायी र कुशल नेतृत्वका रूपमा परिचित छन् । व्यवस्थापनका विद्यार्थी राना होटल व्यवस्थापनमा स्नातकोत्तर हुन् ।

स्थानीय व्यवसाय, राष्ट्रिय स्तरका उद्योग व्यवसायको मात्र नभई रानासँग अन्तर्राष्ट्रिय व्यवसायको पनि प्रशस्त अनुभव छ । वाणिज्य उपाध्यक्षको उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएका रानासँग स्थानीय उत्पादनलाई राष्ट्रियकरण गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत पुर्‍याउने योजना छ । व्यावसायिक रणनीतिमा ‘काविल’ मानिने रानाले भने, ‘व्यवसायीले सञ्चालन गर्दै आएको उद्योग, व्यापारको प्रवर्द्धन तथा संरक्षण गर्नेु त छँदै छ । हाम्रा स्थानीय उत्पादनलाई राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत ब्रान्ड बनाउन जरूरी छ । यसका लागि मसँग योजना छ अब ती योजनालाई कार्यान्वयन गराउनका लागि पनि मेरो उम्मेदवारी हो ।’

दाङका स्थानीय उत्पादन, घरेलु उद्योगका उत्पादनलाई बजारीकरणको खाँचो छ । ‘ती उत्पादनले स्थानीय बजार त पाएका छन् तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाएका छैनन् । दाङलाई आत्मनिर्भर बनाउन, दाङको पहिचानलाई अझ दृढ राख्न अब यहाँका उत्पादनलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रिय बजारको माग गराउन आवश्यक छ ।’ रानाले भने ।


उमेर चार दशकको नजिक रहेका राना हाल सिम टिभी, डिस होम, फाइवर नेट, भिभो मोवाइलको राप्ती अञ्चलको आधिकारिक बिक्रेताका संस्था सञ्चालन गर्दै आएका छन् ।

त्यसो त रानासँग सिङ्गापुरमा कुक तथा म्यानेजरको रूपमा काम गरेको अनुभव पनि रहेको छ ।

व्यवसायका अतिरिक्त समाज सेवा र शिक्षा क्षेत्रसँग पनि राना जोडिएका छन् । दाङको घोराहीस्थित राजविद्या पाठशालाको डाइरेक्टरका रूपमा रहेर रानाले शिक्षा क्षेत्रको पनि नेतृत्व गरिरहेका छन् । राना वर्तमान कार्यसमितिमा सह कोषाध्यक्ष रहेका छन् ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतको एउटा प्यानल र नेकपा एमाले, राप्रपा विप्लव माओवादी तथा मशाल लगायतको अर्को प्यानल तयार गरी व्यवसायीहरू नेता चुन्न चुनावी मैदानमा उत्रिएका छन् ।

आठ पदाधिकारी, एक उद्योग सदस्य, एक महिला सदस्य, एक एसोसियट सदस्य, एक वस्तुगत सदस्य र आठ वाणिज्य सदस्य पदका लागि हुन थालेको निर्वाचनमा ४० जनाको उम्मेदवारी परेको छ ।