तुलसीपुर,३ कात्तिक ।
नेकपा एमालेका महासचिब शंकर पोखरेलले शिक्षा सुधारकालागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताउनुभयो । दाङको तुलसीपुर ६ स्थित सेन्टर माविको ८ कोठे प्रशासनिक भवनको उद्घाटन गर्दै उहाँले विद्यालयको शैक्षिक सुधारकालागि विद्यालय ब्यबस्थापन समिति, प्रधानाध्यापक, शिक्षकहरु सक्षम हुनुपर्ने बताउनुभयो । “सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो , हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो”,उहाँले भन्नुभयो ।
साथै उहाँले विद्यालयको भौतिक सुधारकालागि पूर्वाधार निर्माणको पनि अति आबश्यक रहेको बताउनुभयो । उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाई भइरहेको छ । कक्षा १२ मा ब्यबस्थापन शंकायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताउनुभयो ।
उहाँका अनुसार लगतै विज्ञान विषय पनि पढाउने गरि तयारी गरिएको छ । त्यस्तै विद्यालयमा पाँच वटा प्राबिधिक धारका कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । हाल २५ सय विद्यार्थी सोही विद्यालयमा अध्ययनरत छन् ।
प्रत्येक कक्षामा ७ वटा सेक्सन रहेको र ती मध्ये ६ वटा सेक्सन अंग्रेजी माध्यामबाट पढाई भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताउनुभयो । एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यो संगै विद्यालयमा ७ वटा भवन रहेका छन् । जहाँ ८० शिक्षक कर्मचारी कार्यरत छन् ।
लाइभदाङ । ३ कार्तिक २०८०, शुक्रबार १३:३४ बजे