तुलसीपुरको कार्यपालिका सदस्यकोलागि एमालेको मात्रै उम्मेदवारी

तुलसीपुर, १९ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यकालागि एमालेको एकल उम्मेदवारी परेको छ । मा ८ जना कार्यपालिका सदस्यको लागि विहीबार मनोनयन दर्ताको समय तोकिएको थियो । त्यसमा एमालेको तर्फबाट वडा सदस्यहरु तुलसीपुर १ बाट गौरी नेपाली, वडा नं. ६ बाट यमुना परियार, वडा नं. ९ बाट बसन्ता केसी, वडा नं. १५ बाट सिता कुमारी लामिछाने र वडा नं. १६ बाट रिखा शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।


त्यस्तै दलित अल्पसंख्यक तर्फबाट तुलसीपुर ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नं. १२ बाट मोहन बिक र अल्पसंख्यकबाट वडा नं. १७ बाट तुलराम नेपालीले मनोनयन दर्ता गराएका छन् । बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको लागि समय सिमा तोकिएको थियो ।

उम्मेदवार माथीको दावी विरोध शुक्रबार हुनेछ, र जेठ २१ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भई जेठ २४ गते मतदान हुने कार्यतालिका छ । कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेका ६७, नेपाली कांग्रेसका २३, नेकपा माओवादी केन्द्रका ६ र स्वतन्त्रबाट १ जना गरी ९७ जना मतदाता रहेका छन् । कार्यपालिका सदस्य निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ । तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख एमालेले जितेको छ । भने नेकपा एमालेले १०, नेपाली कांग्रेसले ५, नेकपा माओबादी केन्द्रले तीन र एक वडाध्यक्षमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।