
अन्जना बिश्वकर्मा
तुलसीपुर, २१ असोज ।
तुलसीपुर उपमहानगरपालिकाले केही समय अघि औद्योगिक ग्राम निर्माणकालागि जग्गा पनि तयारी गरेको थियो । जग्गा अतिक्रमण तथा किनबेच गरेकाहरुबाट समेत उपमहानगरपालिकाले जग्गा फिर्ता ल्यायो । तर, अहिले त्यो जग्गा अलपत्र अबस्थामा छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ मा पर्ने ग्वारखोला किनारमा औद्योगिक ग्राम निर्माणकालागि कार्यपालिका बैठकले निर्णय समेत भएको थियो । अघिल्लो सरकारका तत्कालिन नगर प्रमुख घनश्याम पाण्डेले सोही औद्योगिक ग्रामकालागि सोही स्थान छनोट गरेपनि हालको टिकाराम खड्का नेतृत्वको सरकारले भने त्यसलाई खासै चासो देखाएको छैन ।
साना तथा मझौला उद्योगलाई प्रबद्र्धन गर्न सही स्थानमा औद्योगिक ग्राम बनाउने गरि सोच अगाडी बढाईएको भएपनि त्यो कार्य अघि नबढेको उपमहानगरपालिकाका प्रबक्ता माधव वलीले बताए । “ग्वारखोलाको निकास क्षेत्र जुन पहिले बगरका रुपमा थियो, त्यसलाई तटबन्ध गरेर निकास भएको जग्गा औद्योगिक ग्राम बनाउने कुरा भएको हो ”,उनले भने “औद्योगिक ग्रामकै लागि जग्गा ओगटेर बसेकाहरुबाट पनि जग्गा फिता ल्याईयो, अब काम अघि बढ्छ ।”
पछिल्लो समय आर्थिक शंकटले गर्दा पनि उद्योगको काम अघि बढ्न नसकेको हो । तर, त्यसकालागि कार्यविधि निर्माण गर्ने गरि तयारी गरिएको प्रबक्ता वलीले बताए । “कार्यविधि बनाएर उद्योग खोल्न चहानेलाई जग्गा भाडामा दिने गरि तयारी गरिएको छ”,उनले भने । त्यहाँको एक सय विघा जग्गा औद्योगिक क्षेत्रकालागि छुट्याईएको छ । त्यहाँ फोहर ब्यवस्थापन, खेलकूद मैदान, ढल ब्यवस्थापनकालागि डीपीआर भइसकेको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले भने अझै पनि पक्का तटबन्ध निर्माण नभएको बताए । साथै त्यहाँका जग्गा अतिक्रमण गर्नेहरुले पनि छोड्न नमानेको उनको भनाई छ । साथै त्यहाँ विद्युत विस्तार पनि भएको छैन ।
धेरै युवाहरु विदेशीने अवस्था छ ।
औद्योगिक ग्राम स्थापना भएमा युवाहरुलाई स्वरोजगार गर्न सकिने युवा विरबल खड्काले बताए । “अहिले महंगो भाडा तिर्न सक्ने अवस्था छैन”,उनले भने “त्यसैले औद्योगिक क्षेत्र निर्माण भएमा थोरै भाडा तिरेपनि हुने ब्यवस्था गर्न सके युवाहरुलाई स्वरोजगार बनाउन सहज हुन्थ्यो ।” साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २२ आश्विन २०८०, सोमबार १४:०७ बजे