दाङ, २० जेठ । दाङमा स्वर्गद्वारी गुठीपीडित किसानहरू पुनः आन्दोलित बनेका छन् । उनीहरुले आईतबार दाङको घोराही स्थित मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले आफूहरूका पूरा नगरेको भन्दै तालाबन्दीसहित ति दुबै कार्यालय घेराउ गरेका छन् ।
संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीका अनुसार त्यो घेरा तोड्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ, भने दर्जनौ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । सोही क्रममा दुईजना पीडित घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
उनीहरुले बिभिन्न माग राख्ने फागुनमा आन्दोलन गरेपछि सरकारसंग सम्झौता पनि भएको थियो । स्वर्गद्धारी गुठीको जग्गालाई लामो समय भोग गर्दै आएको भएपनि सर्वोच्च अदालतको १४ चैत २०६२ को परमादेशले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनेपछि आफूहरु जग्गाको अधिकार पाउनबाट बञ्चित रहेको किसानहरुको गुनासो छ ।
सोही जग्गा भोगचलन गर्दै आएको यो चार पुस्ता हो । आफ्ना जिजुबाजेको पालादेखि त्यो जग्गा भोग गर्दै आएको पीडत चौधरीले बताए । गुठीका १२ मौजामा किसानहरुले मोही हक दावी गरेका छन् । स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ । २०२१ सालमा आएको भूमि ऐन अनुसार आश्रमको जग्गामा २ सय ८९ जनाको मोही कायम भएको थियो । सोही जग्गामा घर टुक्रिदै जाँदा तीन सय पाँचको हाराहारीमा घर रहेको मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।
२९ मंसिर २०२८ सालमा उक्त जग्गा स्वर्गद्वारी आश्रमको नाममा गएको हो । स्वर्गद्वारी आश्रमको नाममा जानु भन्दा पहिले त्यो जग्गा निजि थियो । तर, किसानहरुले त्यो भन्दा पहिले नै मोही हक पाएका थिए । तर, स्वर्गद्वारी गुठीको नाममा गएपछि पटक–पटक दुःख पाउँदै आएको अध्यक्ष चौधरीले गुनासो गरे ।
२०३८ सालमा आश्रमले सोही जग्गा खण्डीकृत नगरिदिन हुन भनि सरकारसमक्ष निवेदन पेश गरेको थियो । त्यसपछि सरकारले २०४५ सालमा खण्डीकरण नगर्ने भनि निर्णय ग¥यो । त्यही आधारमा २०६२ सालमा न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैंसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादि कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नु नगराउनु भन्ने आदेश गरेको थियो । अदालतले पनि सरकारको त्यो निर्णयलाई सदर गरिदिएपछि आफूहरु पीडित बनेको किसानहरुको गुनासो रहेको छ ।
स्वर्गद्वारी आश्रमको तुलसीपुर १० पढ्ढा, घोराही ५ मैनवार, घोराही १४ झिंगौरा र ढोरेनीमा मोही छन् । त्यस्तै घोराही २ रामपुरको पलासे, लमही ३ को बनगाउँ, मजगाउँ, चैलाही तथा लमही ७ को उचानिम्बुमा मोही हक कायम छ ।
लाइभदाङ । २० जेष्ठ २०८१, आईतवार ११:२९ बजे