डा. सिंह भन्छन् : ‘सर्जन प्रयोगको पात्र मात्रै हो, घटना घटाउने मान्छे अर्कै छ’

डा. विनोद सिंह

दाङ १४ भदौ / दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले आफूमाथि कालोमोसो दल्ने मुख्य योजनाकारलाई राजनीतिक संरक्षण दिईएको आरोप लगाएका छन् । उनले सर्जन परियारहरु कसैको प्रयोगमा आएर आफूमाथि मोसो दलेको उनको भनाई छ ।‘सर्जन परियार घटनामा प्रयोग भएको एक पात्र मात्र हो’, उनले भने‘सायद राजनीतिक दबाबको कारण यो कुरा बाहिर नआएको हुन सक्छ, अभियुक्तलाई प्रहरी हिरासतमा भान्जा राखेजस्तो गरेपछि कहाँबाट कसले यो कार्य गराएको भन्ने थाहा हुन्छ ।’

कालोमोसो दल्ने प्रकरणमा पक्राउ परेका सर्जन परियारसहित तीन जनालाई प्रहरीले धरौटीमा छोडेपछि डा. सिंहले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्‘अभियुक्तहरु मामाघर गए र फर्के ।’ केही दिन अघि उनले आफ्नो सामाजिक सञ्जालमा मेसु पदकालागि आफूलाई मोसो दलिएको समेत प्रतिक्रिया दिएका थिए ।


पक्राउ परेका दिलिप डाँगी पुर्वपक्षका लागि थुना पठाईएको छ, भने परियारसहित गणेश खड्का र दिवस क्षेत्रीलाई जनही ५० हजार रुपैँया धरौटी बुझाएर आईतबार नै रिहा गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

गएको भदौ ११ गते परियारसहित गएका उनीहरुले डा. सिंहमाथि कालोमोसो दलेका थिए । परियार एमाले निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष थिए । मोसो प्रकरण पनि परियारसहितलाई पार्टीले कारवाही गरेको थियो ।