तुलसीपुरमा पत्रकारहरूलाई एक दिने पर्यटन पत्रकारिता तालिम

तुलसीपुर, २३ जेठ ।
दाङको तुलसीपुरमा पत्रकारहरूलाई लक्षित गरी एकदिने पर्यटन पत्रकारिता तालिम सम्पन्न गरिएको छ। स्थानीय पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीहरूको सक्रियता बढाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखाको आयोजनामा पर्यटन पत्रकारिता तालिम सञ्चालन गरिएको शाखा प्रमुख झरेन्द्र खरेलले वताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आथित्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राम वहादुर जि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, राप्ति शान्ती उद्यान पार्कका अध्यक्ष डिल्लीराज भण्डारी तथा विभिन्न सञ्चार माध्यममा आबद्ध २० जना भन्दा बढी पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरप्रमुख खड्काले पत्रकारितामार्फत स्थानीय पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै अनुसन्धानमूलक र तथ्यमा आधारित समाचार लेखनमा सक्रिय हुन पत्रकारहरूलाई आग्रह गर्नुभएको थियो ।


तालिममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रशिक्षण दिनुभयो। उहाँले पर्यटन पत्रकारिताको अवधारणा, स्थानीय पर्यटनका सम्भावना, अवसर, चुनौती, र पत्रकारको भूमिका लगायत विषयमा विस्तृत जानकारी दिनुभएको थियो ।

पोख्रेलले विशेषगरी तुलसीपुर क्षेत्रमा स्थापना गरिएका खमारी, छिल्लीकोट, कुमाल गाउँ, वुटवलपुर, चमेरेगुफा, राप्ति शान्ति उद्यान जस्ता स्थानमा सञ्चालित होमस्टेहरू अहिले बन्द अवस्थामा रहनुको पछाडि जातीय विविधताको कमी र समुदायको आर्थिक अवस्था कमजोर हुनु प्रमुख कारण रहेको बताउनुभयो।

आयोजकका अनुसार आगामी दिनमा पर्यटन पत्रकारितामा थप गहिरो अभ्यास र स्थानीय स्तरमा नीतिगत सल्लाह सुझाव संकलन गर्ने कार्यक्रमहरू समेत सञ्चालन गरिने बताउनु भएको छ ।