तुलसीपुरमा माओवादीका केन्द्रीय नेता वडामा खटिए

तुलसीपुर,६ भदौ । तुलसीपुरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरु वडामा खटिने भएका छन् । भदौ १६ देखि सुरू गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने योजना अगाडि सारेको छ।

सोही अनुसार पार्टीका केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर वली तुलसीपुरको ५ नम्बर वडामा खटिने भएका छन् । त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा‘अपार’ तुलसीपुरको ४ नम्बर वडा, भिमबहादुर वली १ नम्बर वडामा, प्रदेश कमिटि सदस्य अजयदीप शर्मा १८ नम्बर वडामा, तुलसीपुर डाँगी १९ नम्बरमा, तुलसीपुर नगर कमिटि अध्यक्ष खुसीराम चौधरी १२ नम्बर वडामा खटिने भएका छन् ।

त्यस्तै पार्टीका केन्द्रीय कमिटि सदस्य तथा तुलसीपुरको अभियान संयोजन गर्न आएका तिलकराम शर्माको नेतृत्वमा सचिबालय समेत गठन गरिएको छ । अभियान अन्तर्गत सबै वडामा पार्टी सम्बत भातृसंगठन, पत्रकार, बुद्धिजीवीलगायतलाई समेत जिम्मेवारी तोकिएको छ ।


तुलसीपुर नगर कमिटिको बुधबारको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो । त्यस अवसरमा पार्टीका स्थायी किमिटि सदस्य तथा दाङ जिल्ला संयोजनकालागि आउनु भएकी नेतृ जयपुरी घर्तीले पार्टीका नेतादेखि कार्यकर्तासम्म सुध्रिन आबश्यक रहेको बताइन् । साथै उनले यो अभियान मार्फत माओवादीले ल्याएका राम्रा कामलाई जनतामा बुझाईने समेत बताईन् । माओवादीकै कारण मुलुकमा समावेशीसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै यो कुरा बुझाउन आबश्यक रहेको उनको भनाई थियो । साथै माओवादीले अहिले शान्तिपूर्ण ढंगले भ्रष्टाचार विरुद्धको जनयुद्ध सुरु गरेको भन्दै यसमा सबैको साथ आबश्यक रहने बताईन् ।

बैठकमा केन्द्रीय सदस्य जगप्रसाद शर्मा, निर्वाचन आयोगका प्रमुख कुवेर वली, तुलसीपुर संयोजनको जिम्मामा आएका तिलकराम शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए । पार्टी नगर अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको बैठकको सहजीकरण सचिब तुलाराम भण्डारीले गरेका थिए । त्यस अवसरमा सबै वडाबाट रिपोर्ट समेत राखिएको थियो ।