दाङमा ४७ प्रतिशत खेतमा मात्रै रोपाइँ

घोराही, ११ साउन ।
दाङमा साउनको आधा हुनै लाग्दा आधा पनि जमिनमा धान रोपाइँ हुन सकेको छैन । रोपाइका लागि व्याड तयार भए पनि सिचाइँको अभावका कारण अधिकांश ठाउँमा खेत बाँझै रहेको हो ।

कृषि ज्ञान केन्द्र दाङका अनसार जिल्लामा हालसम्म ४७ प्रतिशत खेतमा मात्रै धान रोपाइ सम्पन्न भएको छ । अझ ५३ प्रतिशत खेतमा रोपाइ हुन सकेको छैन । सिचाइँको सुविधा नहुँदा जिल्लाका अधिकांश ठाउँ रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार ढिलागरी सुरु भएको वर्षाका कारणले रोपाइँमा समेत ढिलाइ भएको छ । उहाँले भन्नुभयो, ‘असारको पहिलो हप्तादेखि बर्षा सुरु भए पनि जिल्लामा रोपाइँका लागि पर्याप्त वर्षा हुन सकेको छैन । जस्लेगर्दा व्याड तयार भए पनि रोपाइँ हुन सकेको छैन ।’

कृषि ज्ञान केन्द्र दाङका अुनसार जिल्लामा खेतीयोग्य जमिन ३९ हजार ४ सय हेक्टरमध्ये हालसम्म ४७ प्रतिशत धान रोपाइँ भएको छ । यो अघिल्लो बर्षको तुलनामा करिव १३ प्रतिशतले कमी हो । गतबर्ष साउनको पहिलो सातासम्म जिल्लामा करिव ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।


जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिकामा धान रोपाइँ करिब सकिए पनि दाङ उपत्यकाको घोराही, तुलसीपुरसँगै दंगीशरण, शान्तिनगर लगायतका क्षेत्रमा अधिकांश ठाउँमा खेत बाँझै रहेको छ ।

सिचाइँको सुविधा हुने ठाउँहरुमा किसानले रोपाइँ गरे पनि आकाशे पानीको भरमा खेती हुने अधिकांश ठाउँ बाँझै रहन पुगेको सूचना अधिकारी लामिछानेले बताउनुभयो ।

सिचाइँ सुविधा हुने देउखुरीलगायत घोराही केही वडामा धान खेती सकिएको भन्दै कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ लामिछानेले भन्नुभयो, ‘अहिलेसम्म ४७ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । बर्षा समयमै नहुँदा रोपाइँमा ढिलाइ भएको छ ।’

समयमा पानी पर्दा जिल्लामा असारको महिनामै करिब रोपाइँ सकिने गरेको थियो । ढिला रोपाइँ भए पनि यसले उत्पादनमा धेरै असर नगर्ने सूचना अधिकारी तथा कृषि अर्थविज्ञ लामिछानेले बताउनुभयो । उहाँका अनुसार जिल्लाको ३९ हजार ४ सय हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार हेक्टरमा मात्रै सिचाइँको सुविधा रहेको छ ।