राप्तीमा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

भालुवाङ, ८ असोज।
दाङको राप्ती गाउँपालिकामा डेंगु लगायत किटजन्य रोगहरुको संक्रमण,रोकथाम तथा नियन्त्रणका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

गाउँपालिकाका जनप्रतिनिधि,स्वास्थ्यकर्मी, स्वयंसेवीका,रेडक्रसका प्रतिनिधि ,पत्रकारहरु लगायतका सरोकारवालाहरुलाई डेंगु लगायत किटजन्य रोगहरुको संक्रमण,रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी दिई सो रोग नियन्त्रणका लागि प्रभावकारी रुपले अभियान सञ्चालन गर्ने उदेश्यले उक्त अभिमुखीकरण सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले डेंगु लगायत किटजन्य रोगहरुलाई नियन्त्रण गर्न टोल–टोलमा जनचेतनामुलक कार्यक्रम सँगै विद्यार्थी, जनप्रतिनिधि र टोल विकास संस्थालाई बढी मात्रमा परिचालन गर्नु पर्ने बताउनुभयो ।


एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको सङ्क्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्ने राप्ती गाउँपालिका शाखा प्रमुख नारायण राउतको भनाइ रहेको छ।

डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसबाट बच्न घर बाहिर बस्दा वा वनजंगलमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेबाट बच्न सधैं झुल टाँगेर मात्र सुत्ने लगायतका कार्यहरु गर्नु पर्ने चिकित्सकहरूको भनाई रहेको छ ।

गाउँपालिकाले यस वर्ष पनि डेंगु रोग लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।