पातुखोला हडपेर घडेरी बनाउन खोज्दा ….

दीपक बोहरा
दाङ,१६ चैत ।
दाङको तुलसीपुर स्थित पातुखोला आफैमा कुलो जस्तो भइसकेको छ । कुनै समय‘विशाल’ पातुखोला अहिले कुलोमा परिणत भएको छ । त्यही कुलोमा पनि जग्गा ‘दलाली’हरुको आँखा पर्ने गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ र १० मा पर्ने पातुखोलामा जग्गा दलालीहरुले घडेरी बेच्नकालागि तटबन्ध  बनाउन लागेका थिए ।

केही समय अघि देखि त्यहाँ तटबन्ध बनाउन थालिएको थियो । पातुखोलामा निर्माण भएको अटोभिलेजदेखि केही दक्षिणतर्फ त्यहाँ घडेरी तयार गर्न लागेको थाहा पाएपछि तुलसीपुर उपमहानगरपालिकाका कर्यावहाक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारीहरु पुगेर भत्काएका छन् ।‘त्यहाँ करिब ५० मिटर भन्दा बढिमा तटबन्ध गर्न लागिएको रहेछ, त्यो तटबन्ध पूरा गरेको भए करिब १० कठ्ठा जग्गा निकाल्न सकिन्थ्यो’, कार्यबहाक प्रमुख रावतले भने‘त्यो कुरा हामीले थाहा पाएपछि तटबन्ध भत्काएका छौं ।’

दिउसो त्यहाँ मजदुरहरुले काम गरिरहेकै सन्दर्भमा उपमहानगरपालिकाको जेसीवी लिएर भत्काईएको हो । त्यहाँ पुर्वतर्फको वडा नं. १० मा पर्छ, भने पश्चिम तर्फको वडा नं. ८ मा पर्छ । ठेकेदार झग्गु भण्डारीले पश्चिम तर्फको जग्गालाई घडेरी बनाउनकालागि रिटेनिङ वाल लगाउन थालिएको स्वीकार गरेको कार्यबहाक प्रमुख रावतले बताए ।‘हामीले धेरै सोधपुछ ग¥यौं’, रावतले भने‘त्यो सबै वाल झग्गु भण्डारी आफैले बनाउन लागेको स्वीकार गरेका छन् ।’ त्यहाँ करिब २५ मिटर जति खोला च्यापिएको थियो ।

झग्गुले आफूले मात्रै त्यो बनाउन लागेको भनी स्वकार गरेपनि त्यहाँ अन्य ब्यक्तीहरुको संलग्न हुन सक्ने आशंका गरिएको छ । स्रोतले भन्यो‘अन्य ५÷६ जना ब्यक्ती त्यहाँ संलग्न छन्, त्यो सबै काम गर्ने जिम्मा झग्गुलाई दिईएको थियो ।’


तटबन्ध लगाएको सबै क्षेत्र खोलो बग्ने क्षेत्र हो । पातुखोलामा बजारदेखि नै अतिक्रमण गर्दै आएपछि अन्य क्षेत्रमा पनि अतिक्रमणको दवदवा बढेको छ । केही बर्ष अघि तुलसीपुर उपमहानगरपालिकाले पातुखोला एकदमै जोखिम क्षेत्रका रुपमा प्रतिवेदन निकालेको थियो ।