तुल बहादुर कवँर मगर
भालुबाङ, २६ कात्तिक ।
दाङको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि निःशुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ।
एशियाली विकास बैंक र जापान फण्ड फर प्रोवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले मझौला र साना सहरहरूमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत उपलब्ध सो शौचालय सञ्चालनमा ल्याइएको हो।
उपलब्ध दुई घुम्ती शौचालयमध्ये एउटा वडा नम्बर २ को लालमटियामा सञ्चालन गरिएको छ भने अर्को शौचालयलाई मेला, महोत्सव र विशेष कार्यक्रममा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ। उक्त शौचालयमा एउटा अपाङ्ग मैत्री शौचालय सहित ५ वटा शौचालय रहेको छ।
लालमटियामा सञ्चालनमा आएको शौचालयको व्यवस्थापन लालमटिया बजार व्यवस्थापन समितिले गर्नेछ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शौचालय सुविधा नभएका स्थानहरूमा घुम्ती शौचालयको व्यवस्था गरिँदा यात्रु र स्थानीय बासिन्दालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यसले स्थानीयको स्वच्छता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने समेत बताउनुभयो।
लाइभदाङ । २६ कार्तिक २०८१, सोमबार २०:१६ बजे