जापानीज नागरिकले सिकलसेलको अध्ययन गर्दै

तुलसीपुर, ५ चैत ।
जापानीज नागरिक डा.युका नाकामुराले थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थाल्नु भएको छ ।

                                               

दाङ तुलसीपुरमै मधुमेह रोगको बारेमा ‘शोधपत्र’ गरेर पीएचडी पूरा गर्नुभएकी नाकामुराले सिकलसेलको बारेमा अनुसन्धान गर्न थाल्नु भएको हो । चार बर्ष अघि तुलसीपुर आउँदा उहाँले थारु समुदायमा मात्रै लाग्ने सिकलसेल रोगका बारेमा जानकारी पाएको भन्दै त्यसमा पनि आफूले अध्ययन गर्न थालेको बताउनुभयो ।

“मैले चार बर्ष अघि दाङको तुलसीपुरमै मधुमेह रोगको बारेमा अनुसन्धान गरेर पीएचडी गरेकी छु”,नेपालीमै बोल्दै नाकामुराले भन्नुभयो“मैले थारु समुदायमा मात्रै लाग्ने सिकलसेल एनिमियाबारे जानकारी पाएँ, अहिले यसकै रिसर्च गरिरहेकी छु ।” यहाँ चार बर्ष अघि तुलसीपुर आएर करिब तीन महिना तुलसीपुर बस्नु भएको थियो । त्यतिबेला सिकलसेलको बारेमा केही अध्ययन गर्न पाएको बताउनुभयो । बीचमा पनि नेपाल आएर त्यो रोगको बारेमा अध्ययन गर्ने योजना रहेपनि कोभिडले गर्दा आउन नपाएको समेत बताउनुभयो ।


अहिले उहाँ एक हप्ताका लागि पुनः नेपाल आउनु भएको छ । उहाँ एक हप्तासम्म दाङसहित बाँके,बर्दिया,कैलाली,कञ्चनपुर,रुपन्देही,कपिलबस्तुलगायतका जिल्लाका सिकलसेल एनिमिया पीडितसंग भेटघाट गर्नुहुनेछ । त्यसपछि पुनः जापान फर्किने उहाँले बताउनुभयो । आगामी असारमा पनि पुनः नेपाल आएर विरामीसंग भेटघाट गर्ने बताउनुभयो ।

डा. नाकामुरालाई थारु स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष जीवराज चौधरीलगायतले स्वागत गर्नुभएको थियो । त्यस अवसमा अध्यक्ष चौधरीले सरकारले नै यो रोगका विषयमा चासो नदेखाएको अबस्थामा जापानीज नागरिकले अध्ययन, अनुसन्धान गर्नु आफ्ना लागि ठूलो सहयोग रहेको बताउनुभयो । उहाँले सरकारी अध्ययन अनुसार नेपालमा ११.३ प्रतिशत थारु समुदायमा यो रोग लाग्ने गरेको तथ्यांक छ । तर, पूर्ण रुपमा थारु समुदायमा सिकलसेल परीक्षण नहुँदा त्यसले आधिकारिकता पाउन नसकेको भन्दै सबै थारु समुदायमा सिकलसेल एनिमिया जाँच हुनुपर्ने बताउनुभयो ।

सिकलसेल एनिमियाबाटैे धेरै जनाको मृत्यु भइसकेको र केहीले उपचारमा २० लाख भन्दा पनि बढि खर्च गरिसकेको बताउनुभयो । यस्तो रोगको उपचारकालागि अहिलेसम्म नेपालमा अस्पताल समेत स्थापना हुन नसकेको बताउनुभयो । आफूहरुले बाँकेको नेपालगञ्जमा सिकलसेल एनिमिया अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरेको भएपनि त्यसमा राज्यले उचित तरिकाले हेर्न नसकेको दुखेसो पोख्नु भयो । साथै डा. नाकामुराले सोही अस्पतालकालागि एक लाख रुपैँया सहयोग गर्नुभएको छ ।